चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल

चैत्र २८, काठमाडौं – मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा हिजो देखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे ।

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालय सहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । दुई वर्षअघि देखि ती प्यानल राख्न थालिएको थियो । करिब ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत प्राधिकरणको ग्रिडमा जोडिनेछ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको र यस्ता आयोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सके समृद्धिको यात्रामा सहयोग सिद्ध हुने विश्वास व्यक्त गरे । उनले नेपाल जस्तो भौगोलिक विविधतायुक्त मुलुकमा सौर्य ऊर्जा प्रणाली अति उपयोगी र सान्दर्भिक हुने भन्दै यसलाई समृद्धिको आधारका रुपमा अघि बढाइनु पर्नेमा जोड दिए ।
रासस