कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो : ३० अर्ब व्ययभार वचत

चैत्र २१, काठमाडौं – सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदा सम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीका लागि भन्दै शेर बहादुर देउवा नेतृत्वको सरकारले स्वेच्छिक अवकाशको प्याकेज ल्याएको थियो ।

देउवा सरकारले घोषणा गरेको प्याकेज रोज्दै ९ हजार ५ सय कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका थिए । उनीहरुले ७ वर्षको एकमुष्ट पेन्सन सहितको सुविधा पाउँथे । तर सरकारले राज्यलाई ठुलो आर्थिक भार थपिने भन्दै प्याकेज कार्यान्वयन नगर्ने नीति लिएको हो ।

सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐन अनुसार स्वेच्छिक अवकाश रोज्नेको नामावली प्रकाशन नगरेर प्रक्रिया रोकिएको जनाएको छ । स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन सरकारले गत २३ चैतमा मन्त्रालयको वेबसाइट मार्फत अवकाश रोज्ने कर्मचारीको नामावली सार्वजनिक गर्नु पर्ने थियो । तर मन्त्रालयले अवकाश रोज्ने कर्मचारीको विवरण सार्वजनिक गर्ने प्रक्रिया नै रोकिदिएको हो । मन्त्री पण्डितले अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई पनि अब काममै पठाउने तयारी भएको बताए । उनले स्वेच्छिक अवकाश अघि बढ्ने अवस्थामा नरहेको बताए ।
नयाँ पत्रिकाबाट