चैते दशैं र रामनवमी एकैदिन, शक्तिपीठमा घुइँचो

चैत्र ११  , काठमाडौं –  आज चैते दशैं पर्व मनाइँदै छ । देशभरका शक्ति पीठहरुमा आज बिहानैदेखि भक्तालुहरुको घुइँचो लागेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैँलाई बडादशैँको रुपमा मनाइन्छ भने चैत्र शुक्ल अष्टमीमा चैते दशैँको रुपमा मनाइन्छ । बडा दशैँमा जमरा र टीका लगाउने प्रचलन भएपनि चैते दशैँमा हुँदैन । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । चैते दशैँको दिन काठमाडौँमा भद्रकाली ,शोभाभगवती , दक्षिणकाली , गुहेश्वरी , संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना , गोरखकाली , काभे्रको पलाञ्चोक भगवती , पोखराको विन्धबासिनी, बागलुङको कालीका भगवती लगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चैते दशैंको दिन आज सरकारले सार्वजनिक विदा दिएको छ । यसैबीच राम नवमी र चैते दशैं आज एकै दिन परेको छ । आज बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथी लागेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैं र मध्याह्नमा नवमी परेकाले दुवै पर्व यस वर्ष आज नै परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्षमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । आज धनुषाको जनकपुरधामस्थित रामजानकी मन्दिरमा विशेष मेला र घुइँचो छ ।