सभामुखमा महरा निर्विरोध

काठमाडौं, २६ फागुन — माओवादी नेता कृष्णबहादुर महरा सभामुखमा निर्विरोध निर्वा्चित भएका छन् । प्रतिपक्षी कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि वाम गठबन्धनका साझा उम्मेदवार महरा निर्विरोध भएका हुन् ।
शनिबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकले उनलाई सभामुख निर्वा्चित भएको घोषणा गर्नेछ ।
पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्वाङ प्रस्तावक तथा माओवादीका प्रमुख सचेतक देव गुरुङ समर्थक रहेर शुक्रबार बिहान ११ बजे महराको उम्मेदवारी दर्ता भएको थियो ।
माओवादीका पूर्वहेडक्वार्टर सदस्यहरूको बैठकले महरालाई सभामुख बनाउने औपचारिक निर्णय शुक्रबार बिहान नै गरेको थियो । नेता गुरुङलाई पार्टीको प्रमुख सचेतक बनाउने निर्णय पनि त्यही बैठकले गरेको थियो ।
संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन हुनुपर्छ । २१ गते प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । उपसभामुखको निर्वाचन २ चैतमा हुँदैछ ।

राष्ट्रिय सभाको अध्यक्षका लागि भने ३० फागुनमा निर्वाचन हुनेछ । यसका लागि २८ फागुनमा उम्मेदवारी मनोनयन गर्ने मिति तोकिएको छ । राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन भने ४ चैतमा हुनेछ ।