डिभिजन टुमा नेपाल अंक तालिकाको दोश्रो स्थानमा उक्लियो,आज केन्यासंग खेल्दै

माघ,२९ काठमाण्डौँ -विश्व क्रिकेट लिग डिभिजन टूका ३ खेल सकिँदा नेपाल अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा नेपालले युएइलाई ४ विकेटले हरायो । २ जित र १ हारसहित नेपालको ४ अंक छ । ३ खेल जितेको क्यानडाको ६ अंक छ ।

यसअघि नेपालले आयोजक नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग ६ विकेटले हारेको थियो । यसैबीच विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत युएईसँगको खेलमा व्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका कप्तान पारस खड्का म्यान अफ द म्याच बनेका छन् ।
उनले व्याटिङतर्फ ५१ रन बनाए । ४८ बल खेलेका उनले २ चौका र ५ छक्का हान्दै नेपालको जित निश्चित गरेका थिए । यस्तै बलिङमा पनि उनले २ विकेट लिए । ७ ओभर बलिङ गरेका पारसले २ मेडन राख्दै २० रन खर्चिएर २ विकेट लिएका हुन् ।

यसअघि सस्तैमा आउट हुँदै नेपाली समर्थकको आलोचना खेपेका पारसले भने युएईसँग कप्तानी पाली खेल्दै नेपाललाई जित दिलाएका हुन् । नामिबियाको विन्डहोक मैदानमा युएईले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले ३१ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो ।

तीन खेलमा नेपालको यो दोश्रो जित हो । यसअघि नेपाल आयोजक नामिबियासँग १ विकेटले विजयी भएको थियो । तर ओमानसँग निकै खराब प्रदर्शन गरेको नेपाल भने ६ विकेटले पराजित भएको थियो । । आज नेपालले केन्यासँग र पर्सी क्यानडासँग खेल्नेछ ।
नेपाल, नामिबिया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन । बराबर अंक भएमा रनरेटको आधारमा शीर्ष टीमको टुङ्गो लाग्नेछ ।