प्रदेश नं ३ को पहिलो संसद अधिवेशन आज : कार्यसूची तयार

माघ १८,हेटौंडा – प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूची तयार गर्न हिजो साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ । सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गर्नु भएको ऐतिहासिक प्रदेशसभाको अधिवेशन सम्बन्धी सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रस्तुत गर्नुहुने भएको छ ।

यसैगरी सोही सर्वदलीय बैठकले आज १८ गते बस्ने प्रदेशसभाको ऐतिहासिक अधिवेशनमा सात वटा दलको तर्फबाट बोल्ने प्रदेशसभा सदस्य र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यलाई बोल्नेक्रम र समय निर्धारण गर्ने सूची तयार गरिएको छ । सोही सर्वदलीय बैठकले प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यहरुको तर्फबाट सदस्य मनोनित गर्ने निर्णय गरेको छ ।

यसैगरी उक्त बैठकले प्रदेशसभाको अधिवेशनमा अन्तरिम कार्यविधिको सूची प्रस्तुत गर्ने निर्णय गरेको छ । सोही बैठकले प्रदेशसभा सभामुखका लागि माघ २९ गते निर्वाचनको मिति तोक्न आज बस्ने प्रदेशसभाको अधिवेशनमा प्रस्ताव प्रस्तुत गरिने ३ नं प्रदेशसभा सदस्य डोरमणि पौडेलले जानकारी दिए ।
रासस