देउवालाई कुर्सी छाड्न गगन थापाको आग्रह

माघ १८,बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले तत्काल महासमिति बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । महाधिवेशन नभए पार्टीका प्रदेशसम्मका संरचना व्यवस्थापनमा जटिलता आउने उनले बताए । नेपाली कांगे्रस बुटवल नगर समितिले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले पार्टीको भावी रणनीति र महाधिवेशनको मिति तय गर्न महासमिति बैठक बोलाउनु पर्ने माग गरे । कांग्रेसको छवि बचार्इ राख्नका लागि हालको नेतृत्वले विश्राम लिने बेला आएको भन्दै उनले नयाँ युगको नेतृत्व गर्न पुरानो नेतृत्वले विश्राम लिनु पर्ने बताए ।

‘तपाईंहरुले अहिले सम्म गाडी हाँकेर यहाँ सम्म आउनु भयो, अब तपाईंहरु पछाडि बसेर यात्रा गर्नुहोस् हामी चालक बनेर पार्टी अघि बढाउछौँ, उनले भने । उनले अहिलेको युग युवाको भएकाले पुरानो युगको पुरुषले नयाँ युगको पनि नेतृत्व गर्न सान्दर्भिक नहुने बताए।

प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले नेपाली कांग्रेसले अबलम्वन गरेको सिद्धान्तमा देश अगाडि बढ्दै गर्दा हारको कारण सम्बन्धमा समीक्षा हुनु पर्ने बताए । कम्युनिष्ट पार्टीहरु मिलेर कांग्रेस हार्‍यो भन्नु तर्क संगत नहुने भन्दै उनले पाँच वर्ष पछिको निर्वाचनमा कम्युनिस्ट फुटि सक्ने दाबी गरे ।
अन्नपूर्णबाट