भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु

पुस २३, काठमाडौँ – एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका फोकल पर्सन खेम पुनका अनुसार सदरमुकामभन्दा २३ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।रुघाखोकी र भाइरल ज्वरो फैलिएको एक साता बित्दा पनि प्रभावित क्षेत्रमा औषधि र चिकित्सक पुग्न सकेका छैनन् ।
विरामी हुनासाथ स्वास्थ्य संस्था जानुभन्दा धामीझाँक्रीको भर परेकाले नौजनाको मृत्यु भएको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको जुनीचाँदे गाउँपालिका–१ अन्तर्गत जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आलीमौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोका बिरामी बढी देखिएका छन् । विरामीमा घाँटी दुख्ने, सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ ।
यसैबीच काठमाडौंरजाजरकोटमा फैलिएको भाइरल ज्वरोलाई सरकारले सिजनल इन्फ्लुएन्जा (एचवानएनवान) को आशंका गरेको छ । बिरामीमा देखिएको लक्षण एचवानएनवानसँग मिल्दोजुल्दो भएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिरामीको रगत (सेम्पल) काठमाडौं मगाएको छ ।