काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियस

पुस २३, काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियससम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो । महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केही दिन चिसो अझै बढ्ने बताउनुभयो । उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुगेको छ । महाशाखाका अनुसार देशभर चलिरहेको चिसो हावाको प्रभावले तापक्रम निरन्तर घटिरहेको हो । चिसोको प्रभाव काठमाडौं उपत्यका, पहाडी क्षेत्र तथा तराईमा समेत परिरहेको महाशाखाले जनाएको छ ।
यस वर्ष काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम गत बिहीबार १.४ डिग्री सेल्सियससम्म पुगेको थियो । शनिबार उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
चिसोको प्रभाव तराई क्षेत्रमा पनि केही समय रहिरहने देखिएको छ । पूर्वी तराइमा मौसम केही खुल्ने सम्भावना रहे पनि पश्चिम तराईमा भने चिसोसँगै कुहिरो लाग्ने महाशाखाले जानकारी दिएको छ । मौसम खुल्न पानी पर्नुपर्ने भए पनि हाल पानी पर्ने सम्भावना नरहेको पौडेलले बताउनुभयो । महाशाखाले अझै एक सातादेखि १० दिनसम्म चिसोको प्रभाव भइरहने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । चिसो बढेसँगै तराई क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने पहाडी क्षेत्र तथा काठमाडौं उपत्यकामा समेत सर्वसाधारणहरु चोक–चोकमा आगो बालेर बसेको देखिन्छ ।