देशभर घोषित अघोषित कुनै लोडसेडिङ छैन :कुलमान

 

पुस ७,काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर घोषित अघोषित कुनै पनि किसिमको लोडसेडिङ नरहेको स्पटोक्ति दिएका छन् । हिउँद लागेसँगै नदीमा पानीको सतह घटेकाले प्राधिकरणले लोडसेडिङ गर्न लागेको चर्चा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सुरु भएपछि कुलमानले यस्तो प्रष्टिकरण दिएका हुन् ।

‘अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टा बाहेक अन्य ग्राहकलाई घोषित अघोषित कुनै प्रकारको लोडसेडिङ नगरिएको प्रष्ट पार्न चाहन्छौँ’, कुलमानले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘प्राविधिक समस्याले कहीँ कतै विद्युत् अवरुद्ध भएको अवस्थामा त्यस्ता समस्या तत्काल प्राविधिक टोली पठाएर आपूर्ति सुचारु गर्ने गरिएको छ । ’कुलमानले ग्राहकको माग अनुसार आपूर्ति सहज बनाउन फिडर तथा ट्रान्सफरको क्षमता बढाइ समग्र विद्युत् वितरण प्रणालीलाई सुदृढीकरण गर्ने काम उच्च प्राथमिकतामा राखेको पनि बताएका छन् ।

‘हिउँदमा विद्युत् उत्पादन घटे पनि माग र आपूर्ति बीच सन्तुलन विग्रँदा केही चुनौती थपिएको छ । तर गत वर्षझैँ यो वर्षको हिउँदमा पनि लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेका छौँ ।’ प्राधिकरणका अनुसार विद्युत्को उच्च मागको अहिलेको अवस्थामा प्राधिकरणले आफ्ना आयोजनाबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३६४ मेगावाट सहित जम्मा ९६४ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । ‘अहिलेको अवस्थामा अझै ३०० मेगावाट बिजुली कम हुने गरेको छ ।
अन्नपूर्णबाट