एमाले अध्यक्ष ओलीको टोली एक्कासी रसुवागढी नाकामा !

पुस ५,रसुवा – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गरेका छन् । मंगलबार रसुवा आएका उनले नेपाल–चीन सीमा स्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो क्षेत्रबाटै रेलमार्ग निर्माण गर्ने बताए। गल्छी देखि स्याफ्रुबेँसी हुँदै रसुवागढी सम्म दुई लेनको मोटरबाटो सञ्चालनमा ल्याउने उनको भनार्इ थियो। सो बाटो ट्रयाक खोल्ने काम अहिले नेपाली सेनाले गरिरहेको छ। ‘हामीले काठमाडौं, पोखरा र लुम्बिनीसम्म पु¥याउने गरी रेलमार्ग निर्माण गर्ने भनेको ठाउँ पनि यही हो’, अध्यक्ष ओलीले भने, ‘यो नाका अब सबै हिसाबले अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ।’

मानसरोवर जाने तीर्थ यात्रुलाई समेत यो नाका सहज हुने उनको भनार्इ थियो। ओलीको भ्रमण दलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् । जिल्लाका एमाले नेताहरु पूर्व सांसद जनार्दन ढकाल, पार्टी अध्यक्ष कर्नेल लामा पनि ओलीको टोलीमा छन् । चार वटा हेलिकोप्टरमा आएको अध्यक्ष ओलीको टोलीले बिहान भूकम्पले क्षति पुर्‍याएको लाङटाङ उपत्यकाको अवलोकन गरेको थियो। नयाँ सरकार गठनको तयारी भइरहँदा ओली चीनसँग सीमा जोडिएको अन्तरार्ष्ट्रिय नाका अवलोकनका लागि टिमुरे आएका हुन्।
नागरिकबाट