दुई सातामा ३४ स्थानमा बम विस्फोट : २ सय जना पक्राउ

 

मंसिर ४,काठमाडौं – उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेका बेला आइतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सँगै राखेर पत्रकार सम्मेलन आयोजना गरे । रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा केन्द्रित थियो । मन्त्री प्रधानले चुनावी चहलपहल बढेसँगै सुरु भएको बम विस्फोट घटनाका विवरण सार्वजनिक गर्दै भने, ‘दुई साता यता ३४ स्थानमा बम विस्फोट भइसक्यो ।’ उनले सुरक्षा संगठनले निर्वाचनका लागि तराई केन्द्रित सुरक्षा योजना बनाएको तर घटना पहाड केन्द्रित भएको बताए । उनले विस्फोटका घटनामा विप्लव (नेत्रविक्रम चन्द) नेतृत्वको समूहसँगै अन्य समूह पनि संलग्न रहेको दाबी गरे । उनले अन्य समूह को हुन् भनेर खुलाएनन् ।

मन्त्री प्रधानले आन्तरिक सुरक्षाको जिम्मेवारी गृह मन्त्रालय अन्तर्गत रहेको र गृहको नेतृत्व समेत प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकाले उनी काठमाडौं फर्किए लगत्तै छलफल गरेर नयाँ रणनीति बनाउने बताए । रक्षा मन्त्रालयमा प्रधानसेनापतिले सुरक्षा व्यवस्था बलियो रहेको दाबी गरिरहँदा विभिन्न जिल्लामा उम्मेदवार लक्षित बम प्रहार गर्ने क्रम जारी थियो । कात्तिक २४ देखि विभिन्न जिल्लामा उम्मेदवार माथि आक्रमण हुने क्रम बढेको छ । निर्वाचनको विपक्षमा घोषित रुपमा सक्रिय नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नै हो । तर गृह मन्त्रालयका अधिकारी र प्रहरी संगठनका अधिकारी विप्लवको नाम लिन रुचाउँदैनन् । प्रधानसेनापति क्षेत्रीले उच्शृंखल तत्व भन्छन् भने गृह र सुरक्षा निकायका अधिकारी ‘निर्वाचन विरोधी गतिविधि गर्ने’ मात्र भन्छन् ।

गृहले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ गरेको २ सय जना मध्ये अधिकांश विप्लव समूहमा आबद्ध छन् । तापनि उनीहरु अझै बम विस्फोट लगायतका गतिविधिमा विप्लवको संलग्नताबारे औपचारिक रुपमा बोल्न हच्किन्छन् । स्रोतका अनुसार प्रधानमन्त्री र गृहका केही अधिकारी विप्लवको नेतृत्व विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउँदा सुरक्षा अवस्था थप बिग्रन सक्ने भन्दै जिल्लातहमै केन्द्रित हुनुपर्ने पक्षमा छन् ।
नागरिकबाट