मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजलमा तयार, दैनिक ८ करोड ५० लाख लिटर पानी प्रशोधन हुने

मङ्सिर ४,काठमाडौं – मेलम्चीको पानी राख्न बन्न लागेको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ। ०७० पुसबाट निर्माण सुरु भएको उक्त केन्द्रको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको जापान सहयोग नियोग (जाइका) ले जानकारी दिएको छ । जाइकाद्वारा प्रदान गरिएको करिब पाँच अर्ब सात करोड ८० लाख रुपैयाँ ऋण सहयोगमा प्रशोधन केन्द्र निर्माण गरिएको हो । जाइकाबाट प्राप्त सहयोग केन्द्र निर्माण र त्यससँग सम्बन्धित परामर्श सेवाका लागि खर्च गरिएको थियो ।

प्रशोधन केन्द्रबाट दैनिक आठ करोड ५० लाख लिटर बराबरको पानी प्रशोधन गर्न सकिने जाइकाले विज्ञप्ति मार्फत जानकारी दिएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजना अन्तर्गत सुरुङबाट ल्याइने पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । परियोजनाको सुरुङ निर्माण तथा अन्य काम सम्पन्न भएपछि प्रशोधन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउने बताइएको छ। ‘मेलम्ची खोलाको डाइभर्सन स्किम र वितरण प्रणालीको बीचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ,’ जाइकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस केन्द्रबाट प्रशोधित पानी विश्व स्वास्थ्य संगगठनले तोकेको शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ।’
नागरिकबाट