गोपालको सेरामिक्स कला अनुभव

 

काठमाडौं(इमेलखबसर)— गोपाल कला प्रेमी सेरामिक्स कलाका पाका कलाकार हुन् । उनी संग ३५ वर्षदेखिको सेरामिक्स् कला सम्बन्धी अनुभव छ । उनले काम गर्दाका बेलामा भोगेका भोगाई, संघर्ष र जीवनी बारे राजधानीमा आइतबार पत्रकार माझ संवाद गरिएको थियो । उनको भोगाई जीवनका लागि सुन्न अत्यन्त प्रेरणादायि थियो ।

ललितकला पत्रकार समाज(सोफाज)को नियमीत कार्यक्रम ‘कलाका कुरामा’ यो पटक गोपाललाई निमन्त्रणा गरिएको थियो । उनले नेपालमा सेरामिक्स कला खासै लोकप्रिय नभएको बताए । तर, विदेशमा चाहि यसको अत्यन्त महत्व रहेको खुलाए । कलाकारले बुझाउन नसक्नुमा पनि सेरामिक्स कलाको चर्चामा कमि आएको गोपालको ठम्माई छ । संस्थाका महासचिव देवेन्द्र थुम्केलीले सेरामिक्स कला सुन्दर हुदा पनि लुकेर रहेको हुदा यस्ता सिर्जना बाहिर ल्याउन आवश्यक रहेको बताए । सोफालका अध्यक्ष केशवले चाहि कलाका कुरामा यस्तै छायामा रहेका कलाकारको सिर्जना सार्वजनिक गर्ने उदेश्य रहेको खुलाए ।