गौचनलाई शहीद घोषणा गर्ने सरकारको तयारी

 

असोज २६,काठमाडौं – सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज बिहीबार गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो।

महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो। गौचनको शवलाई बिहीबार महासंघको कार्यालय अनामनगरमा राखे पश्चात् अन्त्येष्टि गरिने महासंघले जनाएको छ। बुधबार महासंघ कार्यालयमा आयोजित एक कार्यक्रममा मृतक गौचनका काका ओमकार गौचनले मृतकको अस्तुविना काजक्रिया सम्भव नभएकाले मृतकको शव बुझ्न सहयोग गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा बोल्दै गौचनले काजक्रियाका लागि सबै नातेदार तथा आफन्त आइसकेकाले परिवारलाई अन्योलमा नपार्न आग्रह गर्नुभएको थियो। उहाँले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाइ नगर्न आग्रह गर्नुभएको थियो ।
नेपाल समाचारपत्रबाट