अनशनरत केसी बोल्नै नसक्ने अवस्थामा

असोज २६ ,काठमाडौं – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका प्रा.डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । अनशनको छैटौँ दिन सम्म शुभेच्छुक माझ बोलचाल गरेका केसी सातौँ दिन (बुधबार) देखि बोल्न नसक्ने अवस्थामा पुगेका हुन् ।

शरीरका सबै मांसपेशी दुख्ने, कटकट खाने, टाउको र छाती दुख्ने समस्या बढेपछि केसी बोल्न नसक्ने अवस्थामा पुगेको उनका सहयोगीहरूले बताएका छन् । केसीको शरीरमा पानीको मात्रा कम भएपछि २४ घन्टाको अवधिमा ६ वटा स्लाइन पानी दिन थालिएको छ । सहयोगीका अनुसार उनलाई बुधबार दिउँसोबाट अत्यधिक छाती दुखेको छ । जसले श्वासप्रश्वासमा पनि समस्या भएको छ । उपचारमा संलग्न चिकित्सकहरूले केसीलाई नबोल्न सुझाब दिएका छन् । केसी असोज १९ देखि अनसनमा छन् ।

नयाँपत्रिकाबाट