उम्मेदवार र प्रतिनिधी उपस्थित नभएपनि मतगणना जारी राख्न आयोगको निर्देशन

असार १६, काठमाण्डौ । निर्वाचन आयोगले मतगणनामा उम्मेदवार र प्रतिनिधी उपस्थित नभएपनि मतगणना सुचारु राख्न निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले मतगणना कार्यमा उम्मेदवार वा प्रतिनिधि उपस्थित नभए पनि र हस्ताक्षर नगरेको अवस्थामा पनि मतगणना जारी राख्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । ।
मतगणनामा सबै वा केही उम्मेदवार, उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भएर पनि मुचुल्कामा सहिछाप नगरेमा पनि मतदना कार्य अघि बढाउन भनिएको हो । उम्मेदवार वा प्रतिनिधि उपस्थित नभएमा वा निजहरुले सहीछाप नगरेमा उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचन ऐनमा निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन भन्ने व्यवस्था रहेको छ ।
००००००००००००००