नारायणगढ–मुग्लिन सडक रातको समयमा आवागमन रोकिने

असार ११, चितवन। रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।
रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उहाँले बताउनुभयो । अब साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी भएको छ । सरोकारवालासँग छलफल गरेर यसको टुङ्गो आजै लगाइने उहाको भनाई छ ।
यो सडकको विकल्पका रुपमा पश्चिम नेपालबाट काठमाडौँ जानआउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङजा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जानसक्ने नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । त्यसैगरी पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् ।