प्रधानाध्यापकमाथि गोली प्रहार

असार ११ । धनुषामा विद्यालय जाँदै गरेका एक प्रधानाध्यापक माथि गोली प्रहार भएको छ । लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय माध्यामिक विद्यालय सिनुरजोडाका प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । शर्माको गालामा गोली लागेको छ । उहाँको अवस्था चिन्ताजनक छ । उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएका शर्मालाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका–७ का शर्मा बिहान साढे ६ बजेतिर आफ्नो घरबाट विद्यालय जाँदै गरेको बेला लक्ष्मीनिया चोकबाट पश्चिम तर्फ बाटोमा मोटरसाइकलमा हतियारसहित आएका दुईजनाले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणी आचार्यले जानकारी दिनुभयो ।