निर्वाचनको कारण रगत अभाव, रक्तदान गर्न आव्हान

 

 

 एजेन्सी, निर्वाचनको कारण १५ दिन यता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ । रगत आवश्यक पर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नु पर्ने बाध्यता आइपरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव भएको हो।

अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले शुक्रबार आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पतालका संचालक ध्रुव काफ्लेले आफ्नो अस्पतालमा रगत चाहिएका बिरामीले रगत नपाएपछि अस्पतालले नै रक्तदान कार्यक्रम गर्न लागेको बताए। उनले भने ‘बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुवै हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं

सो अस्पतालले सबैलाई रक्तदान गर्न आव्हान समेत गरेको छ । शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम गरी सहयोग गरिने अस्पतालका अध्यक्ष प्रा.डा.अर्जुन श्रेष्ठले बताए।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलका अनुसार जिल्लामा दैनिक एक सयदेखि एक सय ५० युनिटसम्म रगत आवश्यक पर्ने गर्दछ । गत वर्ष ३५ हजार युनिट रगत प्रयोग भएको थियो । भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीका लागि बढी रगत आवश्यक पर्ने गर्दछ भने त्यसपछि धेरै शल्यक्रिया गरेका बिरामीका लागि आवश्यक पर्ने गर्दछ ।

जिल्लामा युवाहरुद्वारा गठित “युथ फर ब्लड” समूहले रक्तदाताहरु खोजेर रगत उपलब्ध समेत गराउँदै आएको छ । अन्य समयमा अरु जिल्लाबाट रगत ल्याएर परिपूर्ति गर्ने गरेको भए पनि यसपटक यो क्षेत्रका सबै जिल्लामा निर्वाचन भएकाले अन्यत्रबाट रगत ल्याउन नपाएको पौडेलले बताए।

यसैबिच काठमाडौंलगायतमा पनि रगत अभाव रहेको बिरामीहरुले गुनासो गरेका छन् । सर्वसुलभ मानिएको ब्लड ग्रुपको रगत पनि ब्लड बैंकमा नपाएपछि सामाजिक सञ्जाल मार्फत् बिरामीका आफन्तले रगत दानका लागि आव्हान गरिरहेका छन् ।