रोनाल्डो चम्किएपछि रियाल मड्रिडद्धारा बायर्न म्युनिख पराजित

चैत ३१ ,काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएका खेलहरुमा स्पेनका रियाल मड्रिड र एथ्लेटिको मड्रिड तथा फ्रान्सको मोनाको विजयी भएका छन् ।
जर्मनीमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा घरेलु टोली बायर्न म्युनिखलाई स्पेनको रियाल मड्रिडले २-१ ले हरायो ।

खेलमा रियाल मड्रिडका क्रिष्चियानो रोनाल्डोले दुई गोल गरेका थिए । बायर्नका अर्टुरो भिडालले पहिलो गोल गरेपनि यसपछि पाएको पेनाल्टी अवसर खेर फालेका थिए ।

च्याम्पियन्स लिग क्वाटरफाईनल पहिलो लेगकै खेलमा अर्को स्पेनिस क्लव एथ्लेटिको मड्रिडले इंग्लण्डको लेष्टर सिटीलाई १÷० ले हरायो ।

स्पेनको मड्रिडमा भएको खेलमा एथ्लेटिकोलाई विजयी गराउन एन्टोईन ग्रेजम्यानले निर्णायक गोल गरे ।

यसअघि राती नैं भएको पहिलो खेलमा फ्रान्सको मोनाकोले जर्मनीको बोरुसिया डर्टमण्डलाई उसैको मैदानमा ३-२ ले हराएको थियो ।

खेलमा पाहुना टोली मोनाकोलाई विजयी गराउन किलियन एम्बापेले दुई गोल गरे । डर्टमण्डका स्वेन बेन्डरले एक आत्माघाति गोल गरेका थिए ।

घरेलु टोली डर्टमण्डका लागि भने ओस्मान डेम्बेले र शिन्जी कागावाले एक एक गोल फर्काएका थिए ।

जर्मन क्लव बोरुसीया डर्टमण्डको टिम बसमाथि मंगलबार राती विष्फोटक पदार्थबाट हमला भएपछि स्थगित गरिएको खेल बुधबार राती सम्पन्न भएको थियो ।