काठमाडौं उपत्यकाको हावा २४ सै घण्टा सास फेर्न ‘अयोग्य’

 

चैत ३१ ,काठमाडौं – सरकारी बेवास्ताका कारण झन् झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन् ।
सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले उपत्यकाका १४ स्थानमा स्टेसन राखी प्रदूषण मापन गर्दा राजधानीको हावा २४ घन्टै सास फेर्न अयोग्य रहेको पाइएको हो ।

दृष्टि काठमाडौंले दुई महिनादेखि पर्टिकुलेट म्याटर २.५ को धुलोको मापन गरी अनलाइनमार्फत २४ घन्टाकै प्रदूषणको रिपोर्ट दिँदै आएको छ । चैत ३० गते बुधबार मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्म प्रदूषणको अवस्था खतराजनक देखिएको छ । यो समयमा सोझै फोक्सोमा पुगी रक्तनलीमार्फत शरीरभरि फैलिने पर्टिकुलेट म्याटर २.५ का धुलोको कण १५६ देखि १८६ माइक्रोग्राम घनमिटरसम्म पुगेको थियो ।

१० बजेदेखि १२ बजेसम्म त्यस्ता पर्टिकुलेट म्याटरको मात्रा अतिप्रदूषित मानिने ९६ देखि १२० मिटरक्यू पुगेको थियो । स्वास्थ्यका दृष्टिले यो अवस्था अति नै खतराजनक भएको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डाक्टर करवीरनाथ योगी बताउँछन् ।

काठमाडौंको धुलोमा सास फेर्दा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा सोझै असर पुग्ने उनको भनाइ छ । पर्टिकुलेट म्याटर २.५ का धुलोका कण स्वासका माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ । यो अवस्था शरीरका लागि अतिसंवेदनशील मानिन्छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट