भैरहवा विमानस्थलको निर्माण कार्य पुनः सुरु

 

चैत २३, भैरहवा । रकम विवादका कारण रोकिएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य सुचारु भएको छ । चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण विमानस्थलको काम रोकिएको थियो । विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण कार्य सञ्चालन भएको हो ।

दुई कम्पनीको विवादका कारण बन्द भएको विमानस्थल निर्माण कार्य सञ्चालन गराउन सरकारी स्तरबाट छलफल भएपछि कम्पनी आफैले निर्माण सुरु गरेको आयोजनाले जनाएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन आफैँले काम सुरु गरेको विमानस्थल स्तरोन्नती आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिनुभयो । उहाका अनुसार आयोजनाले तोकिएकै समयसीमाभित्र विमानस्थल निर्माणको काम सम्पन्न गर्नेगरी कामलाई तिव्रता दिन कम्पनीलाई आग्रह गरेको पनि छ ।
निर्माण कार्य जारी रहेकै अवस्थामा नेपाली कम्पनीले आफूलाई चिनियाँ कम्पनीले काम गरेबापतको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेर आन्दोलनमा समेत उत्रिएको थियो ।