निर्वाचन आयोगको कार्यलय घेराउ

 

चैत २१, काठमाडौँ । स्थानीय तह निर्वाचन ऐन खारेजीको माग गर्दै विभिन्न ६४ राजनीतिक दलले देशभरका निर्वाचन आयोगका कार्यालय घेराउ गरेका छन् ।
नयाँ शक्ति पार्टी, वैद्य माओवादी लगायत साना दलहरुले निर्वाचन ऐन खारेजीको माग गर्दै निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।
अहिलेको संसदमा रहेका दलहरुले मात्रै दलीय मान्यतासहितको चुनाव चिन्ह पाउने र अन्य दलहरुले स्वतन्त्र ढंगले नै चुनाव लड्नुपर्ने गरी जारी गरिएको निर्वाचन ऐन खारेज गर्नुपर्ने उनीहरुको माग छ  ।
निर्वाचन आयोगले नै दिएको चुनाव चिन्ह समेत नपाउने नयाँ शक्तिसहितका दलहरु आन्दोलित भएका हुन् ।
यसअघि निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका नेताहरुमाथि हिजो प्रहरीले धरपकड गरेको थियो । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, वैद्य माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेल लगायत नेताहरुलाई प्रहरीे पक्रउ गरी हिजो दिनभर महेन्द्र पुलिस क्लवमा राखेको थियो ।