पूर्वआईजीपीका नाति पनि म्यादी प्रहरीमा,हजुरबा भन्छन्-स्वाबलम्बी बन्न पठाएँ

चैत २१ ,काठमाडौं – ३१ वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनोट कार्य अहिले तीव्र रूपमा भइरहेको छ। ७५ हजार जनशक्तिका लागि १ लाख ७० हजारभन्दा बढीको आवेदन परेको छ। म्यादी प्रहरी भर्नाका लागि देशभर आकर्षण रहेको उल्लिखित तथ्यांकबाट पनि पुष्टि हुन्छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

म्यादी प्रहरीका लागि आर्थिक रूपमा कमजोर रहेका, बेरोजगार युवा शक्तिलगायतको आवेदन परेको हामी अनुमान गर्न सक्छौं। तर, म्यादी प्रहरीका लागि आवेदन हालेका एक युवाको पहुँच, आर्थिक स्थिति, सम्पन्नता हेर्ने हो भने हाम्रो अनुमान गलत पनि हुन सक्छ।
हो, म्यादी प्रहरीका लागि एकजना यस्ता युवकले निवेदन हालेका छन्, जसलाई हामी सहजै पत्याउन सक्दैनौं। पत्याउन उनका कुरा सुन्नैपर्छ। उनी हुन्, नेपाल प्रहरीका पूर्वआईजीपी खड्गजित बरालका नाति पूजन बराल।
उनले म्यादी प्रहरीका लागि दरखास्त हालेको त्यतिबेला खुलासा भयो, जब काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीलाई पूर्वआईजीपी बरालले आफ्नो नातिलाई छनोटका लागि सिफारिस गरे। म्यादी प्रहरी छनोटमा व्यस्त एसएसपी जोशी सुरुमा त आफैं अचम्ममा परे। पूर्वआईजीपी बरालले आफ्ना नातिको म्यादी प्रहरी बनेर दुर्गम ठाउँमा गई सेवा गर्ने रहर सुनाउँदै गएपछि उनलाई पत्याउन करै लाग्यो। त्यसपछि एसएसपी जोशीले म्यादी प्रहरी छनोट भइरहेको टेकु परिसरमा पूजनको खोजी गरे। उनलाई फेला पारेपछि एसएसपी जोशीले सोधे, ‘म्यादी प्रहरीमा भर्ना हुने हो ?’ पूजनले सहजै जवाफ दिए, ‘हो, त्यसैका लागि त निवेदन हालेको र छनोटमा परिन्छ कि भनेर यहाँसम्म आएको।’
पूजनले एसएसपी जोशीसँग भने, ‘म्यादी प्रहरी बन्न निवेदन दिएको मलाई तपाईंले बोलाएर नै सोधेपछि भर्ना हुने थप उत्साह मिलेको छ।’
एसएसपीले जोशीले उनले आफू हजुरबाको प्रेरणाले म्यादी प्रहरीमा भर्ना हुन आएको बताएको जानकारी दिए। पूजन भर्खरै प्लस टु सकाएर उच्च शिक्षा अध्ययनका लागि भारत जाने तयारीमा छन्।
‘को–को आउँछन्, सबैको पारिवारिक अवस्था र उनीहरूको हैसियत केलाउने कुरा भएन, तर यसले के देखायो भने सम्पन्न परिवार, उच्च तहका व्यक्तिहरू पनि म्यादी प्रहरीमा भर्ना भएका छन्,’ परिसर प्रमुख एसएसपी जोशीले भने।
पूर्वआईजीपी बरालले आफूले नेपाल आमाको सेवा गर्नुपर्छ भन्ने प्रेरणा दिएपछि उनमा म्यादी प्रहरीप्रति मोह बढेको बताए। ‘जागिरको आकर्षण आफ्नै स्थानमा होला, तर जीवनको महŒवबोध पनि हुन्छ, त्यसकारण म्यादी प्रहरीमा भर्ना भए राम्रै हुन्छ भन्ने सल्लाह दिएको हुँ,’ पूर्वआईजीपी बरालले भने, ‘आजकालका केटाहरूको सोचाइ ठूलो हुन्छ तर भुइँको सत्य जो छ, त्यसलाई आधार मान्नुपर्छ।’
उनले आफूले नातिलाई घरमा बस्नुको साटो नेपाल बुझेर आइज भनेर सल्लाह दिएको पनि बताए। पूर्वआईजीपी बराले नाति पूजनलाई नेपालको सबैभन्दा दुर्गम गाउँमा जान पनि सल्लाह दिएका छन्। ‘आम नेपालीले कस्तो पीडा भोगेका छन्, दुर्गममा बस्ने नेपालीहरू कस्तो समस्यामा छन्, त्योबारे जानकारी हुने भएकाले पनि नातिलाई दुर्गममा जान सल्लाह दिएको हुँ,’ उनले भने।