कोरियाका लागि आजदेखि आवेदन खुला

 

चैत ९, काठमाडौँ । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गरेको छ । विहान नौ बजेदेखि आवेदन खुल्ला गरिएको इपीएस कोरिया शाखाले जनाएको छ । यो वर्षदेखि इपीएस परीक्षाका लागि आवेदन दिन घण्टौं लाइनमा लाग्नुपर्ने बाध्यता भने हटेको छ । अनलाइनबाट नै आवेदन दिन सक्ने ब्यवस्था गरिए पछि अघिल्लो रातीदेखि नै लाइन लाग्नुपर्ने बाध्यता हटेको हो । खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइने इपीएस शाखाले जनाएको छ ।
शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस् भनी आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घन्टा सम्पर्कमा राख्ने कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले बताउनुभयो ।
शाखाले वैदेशिक रोजगार विभाग, शाखा, सफ्टवेयर ह्याङगर, ग्लोबल आईएमई बैंक, बल्र्ड लिंक र सुबिसु इन्टरनेट प्रदायक कम्पनीका इन्जिनियरको सहयोगमा अनलाइन प्रणाली विकास गरेको हो ।
अनलाइन परीक्षा आवेदन फारम भर्न सबैभन्दा पहिले २४ अमेरिकी डलर ग्लोबल आईएमई बैंकमा जम्मा गरेको भौचर आवश्यक पर्नेछ । योसँगै पासपोर्ट नम्बर अनिर्वाय हुनेछ । बैंक भौचर र पासपोर्ट नम्बर राखेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्नेछ ।
परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आवेदनले भरेको इमेलमा नै आउनेछ । त्यसलाई आफैले प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने शाखाले जनाएको छ । परीक्षा २०७४ जेठ २७ र २८ गते हुने तय भएको छ । कोरियाले सन् २०१८ मा कृषि क्षेत्रमा काम गराउन ६ हजार र उत्पादनमूलक क्षेत्रमा काम गराउन चार हजार कामदार लैजान यस अघिनै निर्णय गरिसकेको छ ।