मधेशी मोर्चा आन्दोलनः जिल्ला समन्वय समितिको बोर्डमा लेखियो ‘मधेस सरकार’

चैत ७, काठमाडौँ । निर्वाचनको बिरोधमा असहयोग आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पर्साको जिल्ला समन्वय समितिको कार्यलयको बोर्डमा ‘मधेस सरकार’ लेखेको छ ।
मोर्चाका कार्यकर्ताले ‘जिल्ला समन्वय समिति’ कालो रङले मेटेर ‘मधेस सरकार’ लेखेका हुन् । मोर्चाले आज जिल्ला समन्वय समितिको मूल गेट र बोर्डमा मधेस सरकार लेखेका छन । राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेलले सरकारले संसदमा पेश गरेको संविधान सशोधन प्रस्तावलाई थाती राखेर स्थानीय तह निर्वाचन मिति तोकेको र मोर्चालाइ पेलेर जान खोजेकाले विरोधस्वरुप अभियान चलाइएको बताउनुभयो ।
यसैबिच मोर्चाले मोरङका स्थानीय तहका चार कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले जिल्ला समन्वय समितिसहित सुनवर्षी नगरपालिका तथा कटहरी, दादरवेरिया र धनपाल गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो ।