आजबाट नयाँ स्थानीय तह

चैत १, काठमाडौँ। नयाँ संरचनाको स्थानिय तह मंगलबारबाट औपचारीक रुपमा कार्यन्वयनमा आएको छ । सरकारले निर्धारण गरेका ७४४ स्थानीय तहले औपचारिकरुपमा काम सुरु गरेका हुन ।

शुक्रबार नै नयाँ संरचनाको स्थानिय तह लागु भएको भएपनि शनिबार, आइतबार र सोमबार सार्बजनिक विदा परेकाले मंगलबारबाट स्थानीय तहले कार्यालय स्थापना गरेर औपचारिक रुपमा काम थालेका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरपालिका कार्यालयको उदघाटन गरेसंगै देशभरका स्थानीय तहका कार्यालयहरु पनि सञ्चालनमा आएका छन् ।

स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले देशभरको कार्यालय मंगलबारबाट काम सुरु गरेको घोषणा गर्नुभयो । स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनअनुसार सरकारले देशभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ । ललितपुर महानगरपालिकासँगै पोखरा–लेखनाथ महानगरपालिका र चितवनको भरतपुर महानगरपालिका पनि मंगलबार बाट कार्यान्वयनमा आएका छन् । यसअघि काठमाडौंमात्रै महानगरपालिका थियो ।
नेपालमा अब ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् ।
महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गर्नेछन् ।