रियल म्याड्रिड क्वार्टरफाइनलमा प्रवेश

 

 

एजेन्सी – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मङ्गलबार राती भएको राउण्ड अफ १६को दोश्रो लेगको खेलमा य्पेनिश क्लब रियल म्याड्रीडले नेपोलीलाई ३-१ले पराजित गरेको छ। पहिलो लेगमा पनि ३-१ले जितेको म्याड्रीड समग्रमा ६-२को जित दर्ता गराउँदै क्वार्टरफाइनलमा पुगेको हो।

खेलको २४औं मिनेटमा ड्राइस मर्टेन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, ५१औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ५७औं मिनेटमा रियलले गोल गर्दै अग्रता बनायो। कर्नरबाट आएको बललाई रामोसले हेडिङ गर्दै पोष्टतर्फ पठाएपनि नेपोलीको मर्टेन्सको टाउकोमा लागेर गोल भएको थियो।

खेलको अन्तिम गोल ९०औं मिनेटमा अल्भारो मोराटाको नाममा रह्यो। रोनाल्डोले प्रहार गरेको बल गोलरक्षकले बचाउ गर्दै फर्काएपछि आएको बलमा मोराटाले गोल गरेका थिए।