नेपालमा महिला डाक्टरको अवस्था कहा कस्तो ?

 

  काठमाडौ माघ २५१०७औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। महिलालाई समाजमा समानता र सम्मानका खातिर अघि बढ्न यो दिवसले प्रेरणा दिने गर्छ। सदियौँदेखि विभेद र अपमानको शिकार बनेका नेपाली महिलाको राज्यका हरेक निकायमा समान उपस्थिति र पहुँचका लागि संघर्ष जारी नै छ। अहिले देशको राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिलाको नेतृत्वमा छ। नेपाली महिला आन्दोलनमा यो एउटा ठूलो उपलब्धी हो। यो नै सबै कुरा भने होइन, तर यी उदाहरणले महिलालाई आत्मबल र उर्जा भने अवस्य दिन्छ।

राज्यका हरेक निकाय वा क्षेत्रमा महिला सहभागिताको क्रम बिस्तारै बढ्दो छ। यसैअन्तगर्गत लिन सकिन्छ स्वास्थ्य क्षेत्रमा महिलाको उपस्थितिलाई। नेपालको नर्सिङ सेवा सम्हाल्ने महिलाहरु नै हुन्। नर्सिङ काउन्सिलमा ६० हजारको हाराहारीमा नर्सहरु दर्ता भएका छन्। यस्तै ५१ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाले गाउँगाउँमा स्वास्थ्य सेवा र चेतना पुर्‍याउन अहम् भूमिका खेलेका छन्। यसैगरी, डाक्टर र विषेशज्ञ डाक्टरका रुपमा पनि महिलाको उपस्थिति बलियो बन्दै गएको छ। समग्र स्वास्थ्य क्षेत्रलाई नियाल्ने हो भने चिकित्सक, नर्स र स्वास्थ्य स्वयंसेविकाका रुपमा महिलाले स्वास्थ्य सेवामा पुर्‍याएको योगदान अतुलनीय छ। यहाँ हामीले विशेषज्ञ चिकित्सकहरुमा महिलाको हिस्सा कस्तो छ भनेर खोजी गरेका छौँ। नारी दिवसको अवसरमा तमाम नेपाली महिलालाई स्वास्थ्य सेवामा खटिरहेका यी विशेषज्ञ महिला डाक्टरहरुको तथ्या‌ंकले उर्जा प्रदान गर्नेछ। त्यसमाथि डेन्टल र प्रसूति तथा स्त्रीरोगमा पुरुषभन्दा महिला डाक्टरको संख्या धेरै छ भन्ने आँकडा देख्न पाउँदा महिलाहरुले पक्कै पनि गर्व गर्नुहुनेछ।

नेपालमा चिकित्सकीय अभ्यास गर्न अनिवार्य रुपमा नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्छ। काउन्सिलको पुस १५ गतेसम्मको तथ्यांक अनुसार नेपालमा दर्ता भएका डाक्टरको संख्या १९ हजार चार सय ९ छ। तीमध्ये मेडिकलमा १७ हजार चार सय ४९ र डेन्टलमा एक हजार ९ सय ६० जना छन्।

काउन्सिलमा दर्ता भएका कुल डाक्टरमध्ये महिलाको संख्या ६ हजार आठ सय ४१ छ। यो काउन्सिलमा दर्ता भएका कुल डाक्टरको ३५ दमलव २४ प्रतिशत हो। तथ्यांक अनुसार मेडिकलमा भन्दा डेन्टलमा महिला डाक्टरको संख्या पुरुषको तुलनामा बढी छ। दर्ता भएका डाक्टरमध्ये डेन्टलमा महिला डाक्टरको हिस्सा ६० प्रतिशत छ। कुल एक हजार ९ सय ६० डेन्टल डाक्टरमा एक हजार एक सय ७४ जना महिला डाक्टर छन्।

कुल डाक्टरमध्ये विशेषज्ञ डाक्टरको संख्या पाँच हजार एक सय ५९ छ। यो संख्या काउन्सिलमा विशेषज्ञ डाक्टरका रुपमा दर्ता गराएकाहरुको मात्र हो। नेपामला सन् २०११ बाट विशेषज्ञ डाक्टरले पनि अनिवार्य रुपमा दर्ता गराउनुपर्ने व्यवस्था सुरु भएको थियो। त्यसअघि विशेषज्ञ डाक्टर भएका धेरैले काउन्सिलमा दर्ता गराए पनि अझै करिब एक हजार जति विशेषज्ञ डाक्टरहरु दर्ता प्रक्रियामा आएका छैनन्।

काउन्सिलको दर्तामा भएका विशेषज्ञ डाक्टरमध्ये महिला डाक्टरको संख्या एक हजार चार सय २२ छ। पुरुष विशेषज्ञको संख्या तीन हजार ७ सय ३७ छ। विशेषज्ञ डाक्टरमा महिलाको हिस्सा २७ दशमलव ५६ प्रतिशत छ।