पशुपतिनाथ मन्दिर जोखिममा, मन्दिरमुन्तिर खाल्डो बन्दै

 

फागुन २४, काठमाडौं – हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न थालेको हो ।
माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले आउने–जाने बाटो बनाएको पाइएको छ । इन्जिनियरिङ जियोलोजिस्ट रञ्जनकुमार दाहालले मन्दिरमा प्रयोग हुने पानी ब्रह्मनाल भएर बागमती नदीमा जाने क्रममा ठाउँठाउँबाट चुहिँदै जाने गरेको जानकारी दिए ।

पाशुपत क्षेत्रको बृहत् गुरुयोजना बनाउन पशुपति क्षेत्र विकास कोषले विभिन्न विषय/क्षेत्रको कार्यपत्र पेस र छलफल गराउने क्रममा सोमबार दाहालले भने, ‘केहीपटक मैले त्यहाँ पुगेर हेरेको छु । तस्बिर खिच्न नमिलेर मात्र हो । नत्र प्रमाण देखाउन सक्छु । त्यसरी चुहिएर जाने पानीले माटो गलाएको कसैलाई थाहा नहुन सक्छ । बलौटे माटो पनि भएकाले क्रमशः थोरै मात्रामा बगे (क्रिप) पनि आसपासमा पर्खाल भएकाले ठूलो असर नदेखिएको हो ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

कोष कर्मचारीका अनुसार ढुंगाको डुँडजस्तो आकारबाट मन्दिरको पानी ब्रह्मनाल हुँदै नदीमा जाने गरेको छ । दाहालले बागमती नदीपूर्वको आरती गर्ने भाग श्लेषमान्तक वनको भागदेखिकै माटो गलेर रहेकाले समस्या आउन सक्ने पनि बताए । पाशुपत क्षेत्रको गहिरो अध्ययन गरेका आर्किटेक्ट सुदर्शनराज तिवारीले ब्रह्मनालको पानी बीचैबाट माटोमा पर्ने गरेकाले माटो गल्ने र बालुवासमेत भएकाले बगाउने गरेको बताए । उनले भने, ‘खासगरी वासुकीनाथ मन्दिरदेखि पूर्वी ढोका हुँदै जाने भाग बढी धसिने सम्भावना छ । पानी जाने ढुंगाको डुँडका लागि अड्याउन राखिएका काठका थाम कुहिसकेका छन् ।’

पशुपतिनाथ मन्दिर व्यवस्थापन महाशाखाका प्रमुख भोलाप्रसाद सिटौलाले मन्दिर परिसरमा पानी बगाउन ह्युमपाइप हालेको जानकारी दिए । उनले भने, ‘यस्तै सम्भावना बुझेर गत वर्ष भारतीय आर्किटेक्टमार्फत अनुसन्धान र काम गर्न खोज्दा हस्तक्षेप भयो भन्ने गुनासोले काम रोकिएको थियो । तर तत्काल जसरी पनि मन्दिरमुनिको भागको अध्ययनअनुसन्धान जरुरी भएको ठहर कोषले गरेको छ ।’