पशुपति क्षेत्रमा नाफामुखी मेला

 

फागुन २४ काठमाडौं – पशुपति क्षेत्र विकास कोषले विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रमा जभाभावी व्यापारिक मेला सञ्चालन गर्ने ठेक्का दिँदा दर्शनार्थीलाई असहज भएको छ। हिन्दूहरूको आस्थाको धरोहर पाशपत क्षेत्रको संवेदनशीलता ख्याल नगरी व्यापारिक मेला गर्दा परिसरमा फोहोरमैला र कोलाहल बढेको छ।

कोषले टेन्डर प्रक्रिया नै गरेर व्यापार गर्न दिँदा पशुपति क्षेत्रमा नकारात्मक असर पुर्‍याइरहेको स्थानीयले गुनासो गरेका छन्।

‘मेलाले मन्दिर परिसरभरि नै फोहोरमैला र चर्काे ध्वनिका साउन्ड सिस्टमले कोलाहल फैलिरहेको छ,’ गौशालाका रञ्जित शर्माले भने, ‘व्यापारिक उद्देश्यले आयोजना गरिने मेलाले पशुपति क्षेत्रकै प्रतिष्ठामा आँच पुर्‍याइरहेको छ।’ पशुपतिको वनकाली चौरमा अहिले विभिन्न व्यापारिक प्रयोजनका रेस्टुरेन्ट, खाना, फेन्सीकपडा, बालउद्यान हस्तकला, भाडाकुँडालगायत दुई सय ५० स्टल रहेका छन्।

पुरातŒव विभाग पूर्वप्रमुख कोशराज आचार्यले विश्वसम्पदामा सूचीकृत क्षेत्रमा कोलाहल हुन नहुने बताउँछन्। ‘बिना जात्राको पशुपतिनाथ मन्दिर हुँदैन। तर, जात्राले ऐतिहासिक महवको क्षेत्रको संवेदनशीलतालाई ख्याल गर्नुपर्छ,’ उनले भने, ‘बजारले नै सम्पदालाई प्रत्यक्ष असर पार्नुहुँदैन ।’ मेला–महोत्सवले ध्वनि प्रदुषण गर्न नहुने उनको भनाइ छ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी अधिकृत रमेश उप्रेतीले मेला–पर्वले पशुपति परिसरमा फोहोरमैला तथा ध्वनि प्रदूषण फैलिएको स्विकारे।

‘प्राचीनकालदेखि नै शिवरात्रि अवसरमा जात्रा गर्ने चलन भएकाले निरन्तरता दिएका हौं,’ उनले भने, ‘व्यापारिक मेलाबाट समस्या आएको दर्शनार्थीको गुनासो आइरहेको छ। त्यसलाई छिटै सम्बोधन गर्नेछौं।’ कोषले १८ लाख रुपैयाँमा टेन्डर प्रक्रिया पूरा गरी मेलापर्व सञ्चालन गर्न दिएको उनले बताए।

अर्का वर्षदेखि पशुपति परिसरभित्रै मेला–पर्व राख्ने वा नराख्ने भन्नेबारे गुरुयोजनामा विस्तृत छलफल गरी टुंगो लगाइने उनको भनाइ छ।

औद्योगिक शान्ति नेपाल संस्था नवजीवन क्लबका अध्यक्ष सन्दीप महतले पशुपति क्षेत्र विकास कोषसँग अनुमति लिएर मेला सञ्चालन गरेको बताउँछन्। ‘टेन्डर प्रक्रिया गरेर मेला आयोजना गरेका हौं,’ उनले भने, ‘मेला सम्पन्न भएलगत्तै सरसफाइ गर्ने छौं।’

पशुपति क्षेत्र विकास कोषले शिवरात्रि अवसरमा मेला सञ्चालन गर्ने अनुमति दिएको जनाएको छ

साभारः नागरिक दैनिक