उम्किसकेका तीन अपहरणकारी यसरी पक्राउ परे

फागुन २२ , काठमाडौ – गत विहीबार साँझ नुवाकोटका घर भइ काठमाडौंको बौद्धमा बस्ने मन दोर्जे तामाङ, कुमार तामाङ र बिशाल तामाङ घर आएनन्।

परिवार र आफन्तले सामान्य खोजी गरे, तर साथीभाइको घरमा गए होलान भनेर धेरै खोजबिन गरेनन्।
शुक्रबार विहान ८ बजेतिर उनीहरुका परिवारलाई नचिनेका व्यक्तिको फोन आयो। तपाईँका मान्छे हाम्रो नियन्त्रणमा छन्, छुटाउने भए साढे ६ लाखको जोहो गर्नुहोला।
सामान्य आर्थिक हैसियत भएको तामाङ परिवार पैसाको जोहो गर्न तिर लागेनन्। उनीहरुले नजिकै रहेको बौद्ध प्रहरीमा जानकारी गराए।
घटनाक्रम सुने लगत्तै बौद्ध प्रहरीले महानगरीय अपराध महाशाखालाई जानकारी गरायो।
शुक्रबार दिनभरी बारम्बार अपहरणकारीले परिवारलाई फोन गरिरहे। कहिले चावहिल, कहिले बालाजु, कहिले नयाँबजार रकम लिएर आउन भने। बारम्बार ठाँऊ फेरिरहे।
कहिले कता कहिले कता भनेर अल्मलाइ रहे। राती १० बजे भोलि भेटौंला भन्दै अपहरणकारीले मोबाइल स्वीच अफ गरे।
अपहरणमा परेका आफन्तले प्रहरीले जे भन्छ त्यही गरिरहेका थिए। प्रहरी पनि अपहरणमा परेकाको परिवार बनेर अपहरणकारीसँग बारम्बार संवाद गरिरहेका थिए।
शनिबार विहान ८ बजे फेरि अपहरणकारीले फोन गरेर दिउसो खुसीँबुमा बोलाए। शादा पोशाकका केही प्रहरी र उनीहरुका आफन्त शनिबार दिउँसो ३ बजेतिर रकम बोकेर खुसीँबु पुगे।
अपहरणकारी ट्याक्सी र मोटरसाइकलमा त्यहाँ आइपुगे। उनीहरु गाडीबाट उत्रनासाथ महाशाखाबाट खटेको डिएसपी अजय केसी नेतृत्वको टोलीले उनीहरुलाई घेरा हाल्यो।
जीवन भन्ने दुर्गाबहादुर तामाङले सेक्सर पेस्तोल झिकेर प्रहरीलाई हान्न खोजे । घेरा हालेको प्रहरीले गोली चलायो, उनको घुँडामा लाग्यो । उनी भूइँमा ढले। साथमा रहेका उनका ५ जना त्यही मौकामा भाग्न सफल भए।

तर प्रहरी फरार पाँच जनाको खोजि जारि राख्यो। प्रहरीले फरारहरुलाई समात्न गोली लागेर ढलेको दुर्गाबहादुरलाई नै प्रयोग गरेको एसएसपी अमात्यले जानकारी दिए।
घाइते दुर्गाबहादुरले उसका साथिहरुलाई फोन गरेर अाँफु प्रहरी कब्जाबाट उम्कन सफल भएको बतायो।
“तिमीहरु कहाँ छौं, म आउँछु” फोनमा उसले भन्यो। फरार मघ्येका विशाल र सचिनले अाफुहरु ठमेलमा रहेको जानकारी दिए।
उनीहरु लुकेर बसेको बिस्तृत ठेगाना लिएपछि प्रहरीले त्यही पुगेर उनीहरुलाई पक्राउ गर्‍यो। पदमबहादुर भागरे बालाजुमा लुकेर बसेका थिए। उसलाई पनि प्रहरीले त्यसरीनै समातेका थिए।
कसरी अपहरण परेका थिए तीन जना ?
मनदोर्जे, कुमार र विशाल बौद्धमा सामान्य ठेक्कापट्टाका काम गर्दथे। अपहरणकारीसँग नीहरुको राम्रो चिनजान थियो। शुक्रबार साँझ अपहरणकारीले खाजा खाउँ भन्दै होटलमा लगे। त्यसपछि उनीहरुले अव अर्कै ठाँउ जाने भन्दै ट्याक्सीमा हाले। गन्तब्यमा पुर्याएपछि उनीहरुले लगाएको सुनको सिक्री, औठी र केही नगद लुटे। अझ अरु रकम माग गर्न सकिन्छ भनेर अपहरणकारीले फिरौती रकम माग गरे।
डिएसपी अजय केसीले अपहरणकारी डाँका र अवैध हातहतियारको मुद्दामा जेल परेर छुटेका ब्यक्ति रहेको बताएका छन्। एक हप्ता अघि मात्र ब्यापारी अपहरणमा परेको सेलाउन नपाउँदै बौद्धबाट ३ जना अपहरणमा परेका हुन्।
चुनावलाई मध्यनजर गर्दै उपत्यकामा केही गुन्डाहरु पनि सलवलाउन थालेको एसएसपी अमात्यले बताए। ‘हामी पनि चुप लागेर बसेका छैनौ। राजधानीका हरेक गुन्डा नाइकेहरुको निगरानी भइरहेको छ,’ उनले भने।