आजबाट २० वर्ष पुराना गाडी सञ्चालनमा रोक,अटेर गरी चलाए जरिवाना सहित जफत गरिने

फागुन १८, काठमाडौं – सरकारले आजबाट २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाएको छ । पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाइएको हो । सार्वजानीक भाडाका सवारी साधन २० पुराना गाडी सञ्चालन भए तत्कालै कारबाही गर्न ट्राफिक प्रहरीलाई परिपत्र गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो । निजी सवारी साधन भने चल्ने पाउने छन् ।

विभागका प्रवक्ता पाण्डेले पुराना गाडी हटाए हाल राजधानी काठमाडौँमा भएको प्रदुषणमा कमी आउने बताउनुभयो । उहाँले सरकारको निर्णय कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विभागका अनुसार राजधानीमा हाल दर्ता भएका ९ लाख गाडीमध्ये १ लाख बढी २० बर्ष पुराना सवारी साधनहरु सञ्चालनमा छन ।
यातायात व्यवस्था विभागले आजबाट सडकमै पुगेर पुराना गाडीलाई ‘१८ गतेपछि नचलाउनु है’ भन्न सुरु गरेको छ । अब २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्नेछ । अब २० वर्ष आयु नाघेका कुनै पनि सवारीको करसमेत नबुझिने भएको छ । उनका अनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । यस्ता सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइएको बताईएको छ ।