असन्तुष्टि चुनावको मतपेटिकामा पोख्न प्रधानमन्त्री दाहालको आग्रह

फागुन १८, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसद्ले संविधान संशोधनका पक्षमा मतदान नगरे पनि चुनावमा सहभागी हुन मधेसकेन्द्रित दलहरूसहित सबैसँग आग्रह गरेका छन् । उनले आफ्ना सबै असन्तुष्टि मतपत्रमा पोखेर स्थानीय चुनावमा सहयोग गर्न मधेसी जनतालाई आह्वान गरेका छन् । यो खबर आज अधिकांश पत्रपत्रिकामा छापिएको छ। हामीले अन्नपूर्णबाट लिएका हौ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै दाहालले दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनाव गराउन पाउँदा आफू गौरवान्वित भएको भन्दै सबैसँग सहयोगका लागि आग्रह गरेका हुन् । ‘मलाई विश्वास छ, निर्वाचनसँगै देशका राजनीतिक दलहरूबीच गाली र तालीको होइन, बरु निर्माणको प्रतिस्पर्धा हुनेछ, विकासको प्रतिस्पर्धा हुनेछ, जनसेवाको प्रतिस्पर्धा हुनेछ’, दाहालले भने, ‘विकास र सरकार अब मतपेटिकाका रूपमा जनताको दैलोमा छ । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो । यो महोत्सवमा बिनासंशय, बिनाधक, बिनाडर, मन, वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिंगो देशलाई हार्दिक आमन्त्रण गर्छु ।’
दाहालले संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय चुनाव सम्पन्न गर्ने मिति नजिकिँदै गएकाले पनि वैशाख ३१ गते घोषणा गरिएको चुनावमा सबैको साथ र सहभागिताले मात्रै लोकतन्त्र बलियो बनाउन सकिने पनि बताए । ‘समय घर्कंदै जाँदा निर्वाचनका लागि संविधानले दिएको समयसीमा र हामीले अपनाएको अन्तरसम्बन्धित चुनावप्रणाली बिथोलिने डर भयो ।
त्यसबाट संविधान र लोकतन्त्र नै गतिरोधमा पर्ने सम्भावना बढ्यो’, दाहालले भने, ‘यसकारण सरकार संशोधन र निर्वाचन दुवै एकसाथ अघि बढाउने निर्णयमा पुग्यो । त्यसैले निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्दै म यही सम्बोधनमार्फत संविधान संशोधन पनि गरेर संविधानको स्वीकार्यता फराकिलो पार्न र राष्ट्रिय एकता सुदृढ बनाउन हिजोजत्तिकै दृढ र प्रतिबद्ध छु ।’
सरकारले संशोधन प्रस्ताव तार्किक निष्कर्षमा पुर्‍याउने बताउँदै सबै असन्तुष्टि चुनावको मतपेटिकामा पोख्न पनि दाहालले आग्रह गरे । ‘यो निर्वाचनले मधेसलाई आफ्नो असन्तोष मतपत्रबाट व्यक्त गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ’, प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरू घरको दैलोमा आएको मतपेटिकामा आफ्ना सबै असन्तुष्टि पोख्नुहोस् ।’