अनुमति बिना सरकारी चिकित्सक राख्न नपाइने

 

फागुन १६, काठमाडौ– स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारी चिकित्सकले मन्त्रालयबाट अनुमति नलिई कार्यालय समयभन्दा अघि नै निजी अस्पताल तथा क्लिनिकमा गएर काम गरेको पाइए काममा लगाउने स्वास्थ्य संस्था खारेजी गर्ने बताएका छन् । मन्त्रालयले सरकारी चिकित्सकहरूले बिहान ९ देखि दिउँसो ३ बजेसम्म ओपिडीमा बिरामी जाँच गर्नुपर्ने र ५ बजेसम्म सोही अस्पतालमा ‘पेइङ क्लिनिक’मा काम गर्नुपर्ने नियम बनाएको छ । स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले भने, ‘अस्पतालहरूको सेवा सही ढंगबाट होस् भनेर नियम बनाएका छौँ, बिरामीलाई तोकिएको समय अवधिभर अनिवार्य सेवा दिनुपर्छ ।’मन्त्री थापाले सबै चिकित्सिकले निजीमा काम गर्न यसअघि लिएको अनुमति खारेज हुने बताए । उनले नयाँ नियमबमोजिम स्वास्थ्य मन्त्रालयसँग अनुमति नलिएका कसैले पनि १ वैशाखबाट निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने बताए । यो समाचार आजको नया प्रत्रिकामा छापिएको छ।

५० प्रतिशत अतिरिक्त सुविधा

चिकित्सकलाई अतिरिक्त समय काम गरेबापत स्वास्थ्य मन्त्रालयले थप ५० प्रतिशत सुविधा दिने भएको छ । मन्त्री थापाले सरकारी स्वास्थ्य संस्थाबाटै सेवा दिन र सेवालाई थप प्रभावकारी बनाउन अतिरिक्त समय काम गर्ने चिकित्सकलाई प्रोत्साहन दिन लागिएको बताए । थप ५० प्रतिशत सुविधा दिने प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको उनले जानकारी दिए । मन्त्री थापाले भने, ‘यस वर्ष ५० प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । सरल र सहज रूपमा उपचार गर्न बाहिरबाट आउने बिरामीको संख्या बढ्नुप¥यो । जनताले अनुभूति गर्ने गरी काम भएको खण्डमा आगामी बर्ष शतप्रतिशत अतिरिक्त भत्ताको व्यवस्था हुनेछ ।’

२८ सय विशेषज्ञ चिकित्सक आवश्यक

स्वास्थ्य मन्त्रालयलाई हाल २८ सय विशेषज्ञ चिकित्सक आवश्यक रहेको स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् । ७५ जिल्लामै विशेषज्ञ चिकित्सकबाट सेवा दिने भनिए पनि आवश्यक चिकित्सक नभएको थापाले बताए । आगामी शैक्षिक सत्रबाट सम्भावना भएका अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल र जिल्ला अस्पतालबाट चिकित्सक छनोट गरी विशेषज्ञ चिकित्सक पढाइने बताए । अहिले स्वास्थ्य मन्त्रालयमा कति विशेषज्ञ चिकित्सक छन् भन्ने यकिन तथ्यांकसमेत नभएको चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए । करिब ६ सयको संख्यामा विशेषज्ञ चिकित्सक रहेको अनुमान डा. श्रेष्ठको छ ।
सैनिक अस्पतालमा सर्वसाधारणको पनि उपचार

सैनिक कल्याणकारी कोषमार्फत सञ्चालित वीरेन्द्र सैनिक अस्पतालले आइतबारबाट सर्वसाधारणलाई पनि उपचार सेवा दिन सुरु गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाको पटक–पटकको आग्रहपछि सेनाले गैरसैनिकका लागि सामान्य सेवा दिन थालेको हो । सैनिक प्रवक्ता ताराबहादुर कार्कीले सैनिक अस्पतालले आइतबार दिउँसो साढे तीन बजेबाट सेवा सुरु गरेको बताए । ओपिडीमार्फत सीमित प्याथोलोजी र एक्स–रे सेवा दिने प्रवक्ता कार्कीले बताए । दिउँसो ३ देखि साँझ ५ बजेसम्म सर्वसाधारणले सेवा लिन सक्नेछन् । प्रत्येक दिन ५० जनाको मात्र उपचार हुनेछ । बिरामीको दर्ता शुल्क प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको कार्कीले जानकारी दिए ।
उनले आफूहरूले राखेको प्रस्तावबमोजिम काम भए डायलाइसिसलगायतका अन्य सेवा पनि क्रमिक रूपमा विस्तार हुँदै जाने बताए । अहिलेको सेवा रक्षा मन्त्रालय र जंगी अड्डाबाट नभई कल्याणकारी कोषमार्फत दिइएको जनाइएको छ । रक्षामन्त्रीका निजी सचिव नरेन्द्र केसीले अस्पतालबाट बिरामीको स्वास्थ्य परीक्षण नभई कल्याणकारी कोषमार्फत हेरिने बताए । बिरामी भर्ना हुनुपर्ने अवस्था आए सेनाले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका अस्पताल रिफर गर्ने जनाएको छ ।