मनाङ पाचौं पटक बिजेता

 

माघ १६, काठमाडौ– साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबले शनिबार आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पोखरा रंगशालामा मनाङले आयोजक सहारा क्लब पोखरालाई १–० गोलले हराउँदै उपाधि रक्षा गरेको हो । मनाङले कीर्तिमानी रूपमा पाँचौपटक उपाधि उचाल्ने क्रममा रक्षापंक्तिका खेलाडी कमल श्रेष्ठले ७०औँ मिनेटमा निर्णायक गोल गरेका थिए । यो समाचार आजको नयां प्रत्रिकाबाट लिएको हो।

३२ यार्ड  टाढाबाट  निर्णायक  गोल

फाइनल प्रतिस्पर्धामा एक मात्र गोल भयो । मनाङका राष्ट्रिय टिमका रक्षापंक्ति खेलाडी श्रेष्ठ गोल गर्न सफल भए । उनले पोस्टभन्दा ३२ यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै बललाई पोस्टभित्र छिराए । सहाराका गोलरक्षक सुजित गुरुङले श्रेष्ठको प्रहार अनुमान लगाउन सकेनन् । बलले सीधै गोलपोस्टको दिशा लियो । श्रेष्ठको गोलसँगै घरलु टोलीका समर्थक स्तब्ध भए । उपाधिसँगै मनाङले पाँच लाख एक हजार रुपैयाँ पाएको छ । साथै उत्कृष्ट रक्षापंक्ति, मध्यपंक्ति र अग्रपंक्तिको खेलाडीको पुरस्कार पाउन सफल भएको छ । उपविजेता सहाराले २ लाख ५१ हजार रुपैयाँ पाएको छ । सहाराले सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक र प्रशिक्षकको पुरस्कार हात पारेको छ ।

मनाङको  बदला  पूरा

जितसँगै मनाङले १२औँ संस्करणको फाइनलमा सहारासँग व्यहोरेको हारको बदला लिएको छ । तीन वर्षअघिको फाइनलमा सहाराले मनाङलाई १–० गोलले हराएको थियो ।

आहा–रारा गोल्डकपमा दसपटक फाइनलमा भिडेको मनाङले पाँचपटक मात्र फाइनल गुमाएको छ । मनाङले दोस्रो, तेस्रो, दसौँ र १४औँ संस्करणको उपाधि जितेको थियो ।घरेलु मैदानमा उपाधिका लागि फाइनलमा तेस्रोपटक भिडेको सहाराले दोस्रोपटक उपविजेतामा चित्त बुझाएको छ ।

कठिन  जित
मनाङका प्रशिक्षक छिरिङलोप्साङ गुरुङले सहाराले रक्षात्मक खेल्दा खेल कठिन भएको बताएका छन् । विपक्षी टोलीका रक्षापंक्ति खेलाडीले सुरुमै बलियो रक्षापंक्ति रणनीति अपनाएको लोप्साङले जनाए । ‘हामीले सहाराको बलियो रक्षापंक्ति पर्खाल तोडन मिहिनेत गर्नुपर्‍यो,’ उनले भने, ‘मैले खेलाडीहरूलाई विपक्षीको अवरोध गर्ने रणनीति बुझेर त्यसलाई चिर्न निर्देशन दिएको थिएँ ।’ रक्षात्मक मात्रै खेलेर खेलाडीको विकास नहुने उनले बताए ।

खेलाडीको  प्रदर्शनबाट  श्रेष्ठ  खुसी

सहाराका प्रशिक्षक किरण श्रेष्ठले खेलाडीहरूले आफूले बनाएको रणनीतिअनुसार खेलेकोमा सन्तोष व्यक्त गरे । ‘योजनाअनुसार नै खेलाडीहरूले मिहिनेत गरेर खेलेकाले म सन्तुष्ट छु,’ उनले भने, ‘उत्तम गुरुङले खाली पोस्टमा हानेको प्रहार क्रसबारमा लागेर फर्किनु नै हाम्रा लागि हारको कारण बन्यो ।’ उनले समग्रमा खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् ।

खेर  गए  अवसर

व्यावसायिक खेलाडीहरूले भरिपूर्ण मनाङले सुरुवातदेखि नै सहारालाई दबाबमा राखे पनि सोचेजस्तो गोल गर्न सकेन । २२औँ मिनेटमा सुजल श्रेष्ठले डिबक्सबाहिरबाट बायाँ बार च्याप्दै हानेको प्रहारले पोस्टको दिशा लिन सकेन । २६औँ मिनेटमा मनाङका आफिजले विपक्षी रक्षापंक्तिका दुई खेलाडीलाई बिट गर्दै पोस्टनजिकैबाट हानेको प्रहार सहाराका गोलरक्षक सुजितले बचाए । ५९औँ मिनेटमा सुजलको कर्नरमा विक्रम लामाले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार पोस्टनजिकैबाट खेर गयो । रक्षात्मक शैलीमा प्रस्तुत सहाराले विपक्षी पोस्टमा बुनेका अवसर खेर जाँदा जितको ढोका खोल्न सकेन । ५३औँ मिनेटमा सहाराका मार्टिनले प्रहार गरेको बल मनाङका गोलरक्षक दिनेश थापामगरसँग ठोकिएर फर्कियो । रिबाउन्ड बललाई डिबक्सभित्रका उत्तम गुरुङले कडा प्रहार गर्दा क्रसबारमा लागेर फर्कियो । सहारा खेलको अन्तिमतिर आक्रामक रूपमा प्रस्तुत भएको थियो । ८६औँ मिनेटमा सहाराका मानबहादुर तामाङले पेनाल्टी क्षेत्रमा मिलाएको क्रसपासलाई मार्टिनले पोस्टको दिशा  दिन सकेनन् ।