निर्वाचनबारे दलीय परामर्शमा प्रधानमन्त्री

माघ १७ ,काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्ने भएका छन्।
प्रधानमन्त्रीले सोमबार बिहान सत्ता साझेदार दल नेपाली कांग्रेस र मधेसी मोर्चासहितको गठबन्धनलाई छलफलका लागि बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले मोर्चालाई बालुवाटार बोलाएको मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।
उनले संशोधनको टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचनको अर्थ नहुने भन्दै मोर्चाले बैठकमा यिनै विषयमा जोड दिने बताए।
स्थानीय निर्वाचन नहुँदा संविधान कार्यान्वयनमा जटिलता आउने र प्राप्त उपलब्धि गुम्ने खतरा औंल्याउँदै प्रधानमन्त्री दाहालले मोर्चालाई फकाउने कसरत गरिरहेका छन्।
अनौपचारिक कुराकानीका क्रममा मधेसी नेताहरूलाई संविधान संशोधन विधेयक अगाडि बढ्न नदिन एमालेको अडान, संशोधनका लागि आफूले गरेको प्रयास, संशोधनको पक्ष र विपक्षमा संसद्मा देखिने सांसदको संख्यालाई देखाएर दाहालले मधेसी मोर्चालाई सम्झाउन प्रयास गरिरहेका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाका सदस्यको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको मताधिकार कटौती गर्ने, संशोधन विधेयकलाई विधायन समितिमा छलफलमा लैजाने, सरकारले सम्बोधन गर्नसक्ने मधेसकेन्द्रित दलले उठाएका अन्य माग पूरा गर्ने प्रस्तावमा सहमति जुटाउने गरी गृहकार्य भइरहेको जानकारी प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले दिए।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा मधेसी मोर्चाले स्वामित्व ग्रहण गरेको छैन। प्रतिवेदनलाई एमालेबाहेक कांग्रेस र माओवादी केन्द्रले पनि पूर्ण रूपमा स्वीकार गरेको देखिँदैन।
संशोधनमा प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलबाट सहयोग नपाएपछि दाहालले मोर्चाका नेतालाई नै फकाउने रणनीति बनाएका हुन् । मधेसकेन्द्रित दललाई बाहिर राखेर गरिने चुनावको औचित्य नहुने निष्कर्षमा रहेका दाहालले उनीहरूका माग सम्बोधन गर्ने विभिन्न विकल्पका बारेमा छलफल गरिरहेका छन्।
कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले आइतबार निर्वाचन मिति घोषणा हुने गरी छलफल अगाडि बढाएका थिए। तीन दलका नेताको समझदारीअनुसार निर्वाचन मिति घोषणा गरे आफूहरू आन्दोलनमा उत्रने चेतावनी मधेसी मोर्चाका नेताले दिएपछि दाहाल अप्ठ्यारोमा पर्दै आएका छन् । उनले आइतबारसम्म निर्वाचन मिति घोषणा हुने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
इसऋघी प्रधानमन्त्री दाहालले बालुवाटारमा आइतबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई बोलाएर निर्वाचनको तयारी गर्न आग्रह गरिसकेका छन्। यसअघि बालुवाटारमै आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रधानमन्त्री दाहालले स्थानीय चुनावबारे छलफल गरेका थिए।