शर्माले ल्याए ‘सिर्जना र दृष्टि’

काठमाडौं – दार्जीलिङनजिकै जलपाइगढी जिल्ला बाग्राकोटका युवा समालोचक तथा पत्रकार रूपेश शर्माको समालोचनापरक कृति ‘सिर्जना र दृष्टि’ सार्वजनिक भएको छ। गान्तोक, सिक्किमबाट प्रकाशित एक दैनिकमा सम्पादन कार्यमा संलग्न उनको पुस्तकको लोकार्पण प्रगतिवादी साहित्यकार बद्रीनारायण प्रधानको जन्मजयन्तीका अवसरमा डुवर्समा गरिएको थियो।
यसै साता आयोजित कार्यक्रममा दार्जीलिङ, सिक्किम, डुवर्स, सिलगढीदेखि असमसम्मका नेपालीभाषी साहित्यकार/लेखकहरूको उपस्थिति थियो।

करिब २० वर्षअघि उत्तरआधुनिकतावादमाथि लेख लेखेर समालोचनात्मक लेखन सुरु गरेका शर्माको लेखनधारलाई नियाल्दै आएका वरिष्ठ समालोचक डा. जस योञ्जन ‘प्यासी’ले खुलेर प्रशंसा गरेका थिए। ‘शर्माको समालोचना र लेखनीमा जुन इमानदारिता र प्रतिबद्धता छ, त्यसले भविष्यमा उनलाई विशिष्ट समालोचकका रूपमा स्थापित गराउने प्रबल सम्भावना देखिन्छ,’ प्यासीले भने, ‘नेपाली साहित्यमा उनीजस्ता समालोचकको खाँचो छ।’

उत्तर बङ्गाल विश्वविद्यालयमा एकताका कृतिकार शर्माका गुरूसमेत रहेका वरिष्ठ समालोचक डा‍. मोहन पी. दाहालले कृतिबारे टिप्पणी गर्दै भने, ‘रूपेश शर्मा शतप्रतिशत प्रगतिवादी समालोचक हुन्। तर उनले आफ्नो विचार थोपर्ने प्रयास कहीँ कतै गरेका छैनन्। गणेशलाल सुब्बा, रत्न बान्तवा आदिपछि प्रगतिवादी समालोचना क्षेत्रमा देखा परेका शर्मा एक खाइलाग्दा समालोचक हुन्।’

नोभेम्बरमा दार्जीलिङमा गठित प्रगतिशील लेखक-कलाकार सङ्घ, भारतका महासचिव समेत रहेका रूपेश शर्माका अधिकांश समय साङ्गठनिक गतिविधिमा खर्चिएका छन्।

भारतीय नेपाली साहित्यकारका अधिकांश नेपाली कृति आम नेपाली पाठकसम्म पुग्न सक्दैनन्। नेपालसँग बिहावारीको साइनोसमेत गाँसेका शर्माले नेपालका पाठकले छिट्टै उनको कृति पढ्न पाउने बताए। ‘पुस्तक लिएर आफैं आउँदैछु,’ उनले भने।

भारतका प्रगतिवादी साहित्यकार बद्रीनारायण प्रधानमाथि प्रकाशित स्मृति ग्रन्थ ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’को सम्पादन कार्यबाट उनले प्रशंसा पाइसकेका छन्।