अमेरिकी राष्ट्रपति डोनाल्डले सपथपछि के भने !

माघ ८, काठमाडौं – ४५ औँ राष्ट्रपतिका रुपमा शुक्रबार शपथ ग्रहण गरे लगत्तै डोनाल्ड ट्रम्पले छोटो सम्बोधन गरे। उनको सम्बोधनलाई राष्ट्रपतिको सम्बोधनभन्दा पनि चुनावी प्रचारकै ह्याङओभरको रुपमा धेरैले टिप्पणी गरे। वासिङटनका विभिन्न ठाउँमा ट्रम्पविरोधी प्रदर्शन र झडपका बीच भएको शपथ समारोहमा उनले राखेका केही प्रमुख विषय

१) आज हामी एउटा प्रशासनबाट अर्कोमा, एउटा पार्टीबाट अर्कोमा शक्ति हस्तान्तरण मात्र गरिरहेका छैनौँ। हामी वासिङटन डिसीबाट तपाईँ, जनतामा शक्ति हस्तान्तरण गरिरहेका छौँ।

२) वासिङटन फक्रियो, तर यसको सम्पतिमा जनताले सेयर पाएनन्। नेताहरु सम्पन्न भए तर जागिर गुम्यो, फ्याक्ट्रीहरु बन्द भए। संस्थापनले आफूलाई रक्षा गर्‍यो तर देशका नागरिकलाई गरेन। उनीहरुको विजय तपाईँको विजय हुन सकेन। आजको दिन जनता यो देशको पुनः शासक भएको रुपमा सम्झना गरिनेछ।

३) दशकौँदेखि हामीले विदेशी उद्योगलाई फस्टाउन दियौँ अमेरिकी उद्योगको साटो, अरु देशका सेनाहरुलाई सुविधा दिएर हाम्रो सेनालाई कमजोर बनायौँ। अरु देशको सीमा रक्षा गरेर आफ्नै सीमा रक्षा गर्न सकेनौँ। समुद्रपारी खर्बौँ डलर खर्च गरेर अमेरिकी पूर्वधारलाई खत्तम बनायौँ। हामीले अरु देशहरुलाई धनी बनायौँ तर हाम्रो देशको सम्पति, शक्ति र विश्वासलाई कमजोर बनायौँ। हाम्रो मध्यम वर्गको सम्पति उनीहरुको घरबाट खोसेर विश्वमा वितरण गर्‍यौँ। तर यो विगतको कुरा हो। र अब हामी भविष्षय हेरिरहेका छौँ।

४) आजको दिनदेखि अमेरिका पहिले अमेरिका पहिले हुनेछ। व्यापार, कर, अध्यागमन, विदेश मामिला हरेकमा निर्णय अमेरिकी कर्मचारी र अमेरिकी परिवारको हितमा हुनेछ।

५) अमेरिकाले फेरि जित्न थाल्नेछ र पहिले कहिल्यै नजिते जसरी जित्नेछ। हामी हाम्रो रोजगार फिर्ता ल्याउने छौँ। हामी हाम्रा सीमाहरु फिर्ता ल्याउनेछौँ। हामी हाम्रो सम्पति फिर्ता ल्याउने छौँ। र हामी हाम्रा सपनाहरु फिर्ता ल्याउने छौँ।

६) हामी नयाँ बाटो र राजमार्गहरु र पुलहरु र विमानस्थलहरु र सुरुङहरु र रेलमार्गहरु हाम्रो सुन्दर देशभर बनाउने छौँ। हामी हाम्रो देशको पुननिर्माण अमेरिकी हात र अमेरिकी श्रमबाट गर्नेछौँ।

७) हामी दुई वटा सरल नियम अपनाउने छौँ- अमेरिकी किन र अमेरिकी श्रम काममा लगाऊ।

८) हामी पुराना गठबन्धनहरुलाई बलियो बनाउने छौँ र नयाँ बनाउने छौँ र सभ्य संसारलाई कट्टरपन्थी इस्लामिक आतंकवादविरुद्ध एकतावद्ध बनाउँदै पृथ्वीबाट निर्मूल पार्नेछौँ।

९) हामी कुरा मात्रै गर्ने काम नगर्ने र गुनासो मात्रै गर्ने नेताहरुलाई स्वीकार गर्ने छैनौँ। कुरा मात्र गर्नेको समय सकियो। अब काम गर्ने बेला आयो।

१०) कालो होस् वा खैरो वा गोरो, हामी देशभक्त सबैको रगत रातो हुन्छ। हामी मिलेर अमेरिकालाई बलियो बनाउँछौँ। हामी अमेरिकालाई फेरि धनी बनाउँछौँ। हामी अमेरिकालाई फेरि गर्व गर्ने बनाउँछौँ। हामी अमेरिकालाई फेरि सुरक्षित बनाउँछौँ। र हो, सँगै मिलेर हामी अमेरिकालाई फेरि महान् बनाउँछौँ।