के के भयो इन्टरपोल सम्मेलनमा ?

माघ ८, काठमाडौं –पाँचबुँदे निर्णय गर्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनले आतंकवादविरुद्ध संयुक्त रूपमा लड्ने प्रतिबद्धता गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
सम्मेलनबाट नेपाललाई पनि अन्तरदेशीय अपराध अनुसन्धानमा सहजता प्रदान गरेको नेपाल प्रहरीले जनाएको छ। सम्मेलनले सन् २०१७ देखि २०२० को रणनीतिक प्राथमिकताका विषय तय गरेको छ।
एसियाली क्षेत्रमा संवेदनशील समुदायको सहयोगलाई एकीकृत कार्य सञ्चालन गर्ने, आतंकवादी संगठनविरुद्ध प्रहरीको समन्वय बलियो बनाउने, इन्टरपोलको एसियाली क्षेत्रमा विश्व साइबर अपराधविरुद्धको रणनीतिक कार्ययोजनाको प्राथमिकता राख्ने र योजना र अन्तरमहादेशीय वातावरणीय अपराधको विश्लेषण तथा कारबाही गर्ने योजना रहेका छन्।
सम्मेलनको अध्यक्षता गरेका नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माका अनुसार रेडकर्नर नोटिस अन्य क्षेत्रको तुलनामा एसियामा कम प्रभावकारी भएकाले रेडकर्नर नोटिसलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ।
सूचना र अनुभवको अप्रेसनले सम्मेलनमा सबै देशलाई फाइदा भएको इन्टरपोलले जनाएको छ। त्यस्तै विभिन्न देशका प्रहरीसँगको सम्बन्ध विस्तारले अपराध अनुसन्धानमा सहजता बढेको एआइजी शर्माले बताए।
सम्मेलनमा आतंकवादको चुनौती नियन्त्रणका विषयमा गम्भीरताका साथ छलफल भएको एआइजी विज्ञानराज शर्माले बताए। खासगरी इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाको प्रमुख सुरक्षा चुनौती भएको इन्टरपोलले जनाएको छ। मध्यपूर्वका देशहरूबाट उनीहरू बारिहिँदै जाने र एसियाका अन्य देशमा बसेर आतंकवादसम्बन्धी गतिविधि गर्न सक्नेबारे सम्मेलनमा सहभागी विभिन्न देशका अधिकारीले चिन्ता व्यक्त गरेका थिए।
विश्वमा बढ्दै गएको आतंकवादको चुनौतीबाट नेपाल पनि ढुक्क हुन सक्ने अवस्था रहेको सम्मेलनपछिको समापनपछि आयोजित पत्रकार सम्मेलनमा एआइजी शर्माले बताए। आतंकवादविरुद्ध सूचना आदानप्रदान गरी आतंकवादविरुद्ध लड्नेबारेमा गम्भीरताका साथ छलफल भएको उनले बताए।
सम्मेलनमा आइजिपी उपेन्द्रकान्त अर्यालले मानव बेचबिखन, डिआइजी नवराज सिलवालले वन्यजन्तु अपराध तथा डिआइजी बमबहादुर भण्डारीले आतंकवादविरुद्ध नेपालले गरेको कारबाही र समस्याबारे कार्यपत्र पेस गरेका थिए। आइजिपी अर्यालले मानवतस्करी रोक्न अन्तर्राष्ट्रिय संयन्त्र प्रस्ताव गरे पनि त्यसलाई सम्मेलनले प्राथमिकता दिएन। इन्टरपोलसँग अन्तर्राष्ट्रिय आपराधिक समूहबारे धेरै डाटाहरू रहे पनि त्यसलाई धेरै देशले सदुपयोग नगरेको इन्टरपोलका अधिकारीले बताएका थिए।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले इन्टरपोल विश्वकै कानुन कार्यान्वयन गर्ने इकाइहरूको संगठन भएको कारण अन्तरदेशीय तथा संगठित अपराधहरूको विरुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। अपराधविरुद्ध गरिएको छलफल र निर्णयबाट अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने र यसका लागि नेपाल सरकार गृह मन्त्रालय सहयोगी भूमिका निर्वाह गर्न सदैव अग्रसर रहेको उनको भनाइ थियो। सम्मेलनको मार्गनिर्देशनअनुरूप इन्टरपोलका सदस्य राष्ट्रहरू ऐक्यबद्ध भई अगाडि बढ्नुपर्ने उनको जोड थियो।