चिसोले भूकम्पपीडितको जनजीवन प्रभावित

पौष २१, काठमाडौं— मौसम परिवर्तनसँगै एक्कासि बढेको चिसोका कारण भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ । उच्च भेगमा हिमपात र तल्लो भागमा चिसो बढेपछि स्थानीय अस्थायी टहरामा आगो तापेर रात बिताउन बाध्य छन् ।

‘चिसोले बाहिर निस्कन सकिएको छैन,’ समुद्रटार ७ का राजु पण्डितले भने, ‘गाईबस्तुको समेत बिजोग भयो ।’ ‘आगो बालुन्जेल न्यानो हुन्छ,’ उनले भने, ‘त्यसपछि जस्ताको चिसोले सताउँछ ।’ चिसोले बालबालिका र वृद्धवृद्धालाई सताएको स्थानीयले बताए । ‘घर बाहिर निस्कनै गाह्रो छ,’ साल्मे ७ घलेगाउँका स्थानीय कृष्णमान घलेले भने, ‘माथिडाँडामा परेको हिउँको सिरेटोले चिसो बढायो ।’

‘घर बनाउन नसकेकाले यस्तो सास्ती खेप्नुपर्‍यो,’ उनले भने, ‘आगो तापे पनि राति जस्ताबाट खसेको शीतको थोपाले जाडो बढाइहाल्छ ।’ अधिकांश भूकम्पपीडितले घर बनाउन सकेका छैनन् । पहिलो किस्ता रकम लगेकाको पनि हालत उस्तै छ ।

जिल्लामा ६५ हजार ६ सय ५९ जना भूकम्पपीडित भए पनि १० हजारभन्दा बढी छुटेको बताइएको छ ।