ब्याण्ड बाजा बजाएर मधेसबाट एमालेको विदाई गर्ने महतोको भनाइ

पुस १९, सप्तरी – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेलाई तराई/मधेसमुक्त बनाउन गाउँ-गाउँमा विदाई कार्यक्रम गर्न जनताहरुसँग जुटिसकेको दाबी गरेका छन् ।
‘एमालेलाई मधेस चाहिएन भने मधेसलाई पनि एमाले चाहिएको छैन,’ प्रेस मञ्च सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महतोले भने, ‘ब्याण्ड बाजा बजाएर एमालेको विदाई आयोजना गरिनुपर्छ ।’

आफ्नो विदाई भइरहेको खबर थाहा पाएपछि एमाले ठीक ठाउँमा आउने र संविधान संशोधनमा तत्परता देखाउने उनको भनाइ छ ।

एमालेले संशोधन विधेयकमा छलफल रोक्ने गरी आएको संसद अवरोध गैरलोकतान्त्रिक भएको बताउँदै मधेसी मोर्चाका नेता महतोले एमालेले संघीयता धरापमा पार्दै संविधान कार्यान्वयन हुन नदिने योजनामा रहेको बताए ।

मुख्य तीन दललाई अधिकार लुटेको डाँकाको संज्ञा दिँदै उनले ती मध्ये कांग्रेस र माओवादी लुटिएको अधिकार दिन तयार भएपनि एमाले दिन नचाहेर ठूलो डाँका बनेको आरोप लगाए ।

मुलुकमा संविधान कार्यान्वयन अति आवश्यक रहेको बताउँदै उनले संशोधन बिना कार्यान्वयन हुनै नसक्ने बताए । उनले संविधान कार्यान्वयनका लागि भएपनि संशोधन प्रकृयालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

संविधान संशोधन बिना चुनाव गराइए पूर्वराजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तै हुने महतोको चेतावनी छ ।