केही दिन यता बढी चिसिएको मौसम आजदेखि सुधार हुने अनुमान

पुष १९, काठमाडौं— पश्चिमी वायुको प्रभावले केही दिन यता बढी चिसिएको मौसम आजदेखि सुधार हुने अनुमान गरिएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु हिजो देशको मध्य भेग हुँदै पूर्वतर्फ अघि बढिरहेकाले आजदेखि क्रमिक रुपमा सुधार हुनेछ । आज हिजोको तुलनामा मौसम खुलनुको साथै घाम लागेको छ ।
पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्रको विकास हुँदा देशको मौसममा खराबी आएको हो । मौसम बद्लीसँगै कतिपय स्थानमा वर्षा र हिमपात भएपछि काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ भने तराई भेगमा बाक्लो कुहिरो लागेको छ । गएराती काठमाडौँमा फाट्टफुट्ट वर्षात पनि भएको छ ।
आजपनि देशका विभिन्न भेगमा मौसम बद्लीसँगै हल्का वर्षा र हिमपात भईरहेको छ । पश्चिम नेपालबाट आईतबार प्रवेश गरेको उक्त वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा गएराती हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । पहाडी भेग र मध्य र पूर्वका केही स्थानमा वर्षा हुनेछ, हिमाली क्षेत्रमा हिमपात हुने देखिएको र आज पनि मध्य र पूर्वी पहाडी भेगमा बद्ली हुने उहाले बताउनुभयो ।