कार्यसूचीमा सहमति नभएपछि संसद बैठक ६ दिनका लागि स्थगित

पुस १९, काठमाडौ—  संविधान संशोधनमा सत्तापक्ष–विपक्षको अडान यथावत रहेपछि संसद बैठक ६ दिनका लागि स्थगित भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्यसूचीमा सहमति नभएपछि पुस २४ गतेसम्मका लागि स्थगित भएको हो । सभामुखका प्रेस विज्ञ बबिन शर्माले दलहरुले अर्को बैठकसम्म सहमति खोजिसक्ने प्रतिबद्धता जनाएपछि अबरुद्ध हुने स्थिति नआओस् भनेर सूचना टाँसेर बैठक स्थगित गरेको जानकारी दिए ।

एमालेसहितका विपक्षी दलले पुस २२ गते काठमाडौंमा प्रदर्शनको तयारी गरेकाले संसद बैठक लामो समयसम्म स्थगित गरिएको हो ।

संविधान संशोधन विधेयक असंवैधानिक रहेको भन्दै एमालेसहितका विपक्षी ९ दलले लगातार संसद बैठक अबरोध गर्दै आएका छन् ।