के पि ओलीले गर्जिदै भने “नेपाली एकता छिन्नभिन्न हुन दिन्न”

पुस ९, बाग्लुङ  – प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई विखण्डन गर्ने गरी संविधान संशोधन प्रस्ताव आएको भन्दै कुनै हालतमा पारित हुन नदिने बताएका छन् । शनिबार एमाले बाग्लुङको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले नेपाली एकतालाई टुक्राउने गरी संशोधन आएको दाबी गरे । नेपाली एकता छिन्नभिन्न पार्नको लागि देशी विदेशी शक्ति लागि परिरहेको भन्दै राष्ट्रिय एकतामा दखल पुर्यातउने कार्य आफूहरुलाई सैहृय नहुने बताए ।
‘अहिलेको आवश्यकता चुनाव गराएर संक्रमणकालको अन्त्य गर्नु हो, ओलीले भने, ‘तर, प्रचण्डजीहरु संविधान संशोधनको प्रस्ताव ल्याउनतर्फ लाग्नु भयो ।’ सरकारले संविधान कार्यान्वयन गर्न लाग्नुको सट्टा संशोधन प्रस्ताव दर्ता गराएर उल्टो बाटो हिँडेको उनको आरोप छ । आफूले नेपालको विकास र नेपाली राष्ट्रियताको सवालमा चट्टानी अडान राख्दा सरकारबाट हट्नु परेको उनको गुनासो थियो । उनले अघि भने, ‘नेपालमा नराम्रो काम गरेर होइन, राम्रो काम गर्दा सरकार हट्छ ।’ पूर्व प्रधानमन्त्री ओलीले राम्रो काम गर्दा सरकारबाट हट्नु परेको बताए । प्रचण्ड नेतृत्वको सरकार नेपाल र नेपालीको नभई विदेशीको ईशारामा बनेको उनको दाबी छ । जिल्ला अधिवेशनमा नेकपा माओबादी केन्दका जिल्ला स्तरका केहि कार्यकर्तालाई एमालेमा प्रबेश गरेका छन ।