उपत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने

पुस १०, काठमाडौं – उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ। ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाटमा केन्द्र सञ्चालन गरिन लागेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्ने तयारी गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए। उनका अनुसार प्रशोधित पानीलाई बागमतीमा पठाइनेछ। ढल प्रशोधन केन्द्रमा नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैँक (एडिबी)लगायत अन्य दातृनिकायको ६० प्रतिशत लगानी रहेको छ।
प्रशोधन केन्द्रमा आधुनिक प्रविधिद्वारा कभरले ढाकिने भएकाले वरिपरिको वातावरणमा कुनै असर नपर्ने निर्देशनालयले जनाएको छ। छेउछाउमा रूख–बिरुवा रोपेर प्रशोधन केन्द्र हरियाली बनाइने ढकालले बताए।
उपत्यकाका चार ढल प्रशोधन केन्द्रमध्ये गुह्येश्वरीको डेढ वर्षभित्र पूरा भई सञ्चालनमा आउने भएको छ। त्यसका लागि टेन्डर जारी भइसकेको छ। अरू तीन प्रशोधन केन्द्रको सबै प्रक्रिया पूरा भइसकेकाले टेन्डरको प्रक्रियामा रहेको ढकालले बताए। ‘ढल प्रशोधन केन्द्र निर्माणका लागि एक चाइनिज कम्पनीसँग छलफल भइरहेको छ, सम्झौताको अन्तिम चरणमा छौँ,’ उनले भने। आगामी ०७६ पुसभित्र तीन प्रशोधनको काम पूरा गर्ने लक्ष्य राखिएको छ।
राजधानीमा दैनिक १६ करोड लिटर पानी खपत हुँदै आएको छ। कुल खपत पानीको ८० प्रतिशत अर्थात् १२ करोड ८० लाख लिटर पानी ढल बन्ने निर्देशनालयको अनुमान छ। चार ठाउँमा ढल प्रशोधन केन्द्र स्थापना भई सञ्चालन भएमा दैनिक १० करोड लिटर ढल प्रशोधन हुनेछ। लक्ष्यअनुसार प्रशोधन हुन नसकेमा ललितपुरको खोकनामा ६ सय रोपनी जग्गा लिई पानी प्रशोधन गर्ने निर्देशनालयले योजना बनाएको छ।