यस्तो छ संघीयतामा केपी ओलीको नयाँ विकल्प

पुस ७, काठमाडौं – संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर-दक्षिण बनाइ अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् । आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोट निवासमा बुधबार छलफल गर्दै ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरेका हुन् ।

ओलीको भनाइमा समर्थन जनाउँदै पूर्वसांसदहरूले पहिलो संविधानसभामा आफूहरूले मुलुकले धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानीमात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

ओलीले संविधान संशोधन विधेयक संसद्मा अल्पमतमा परिसकेको दाबी पनि पूर्वसासंदहरूसँग गरे । ‘संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ मत छैन । प्रस्तावको विपक्षमा दिनप्रतिदिन मत बढिरहेको छ । त्यसैले अब संशोधन होइन, स्थानीय निकाय निर्वाचन हुनुपर्छ’, पूर्वसांसदसँग ओलीले बुधबार भने ।

ओलीले पूर्वसांसदहरूलाई भनेका थिए, ‘रूपान्तरित संसद्को उद्देश्य संविधान कार्यान्वयन हो, संशोधन होइन । संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउने अभिभारामात्र संसद्को हो ।’

ओलीले आफूहरूसँग २०४६ देखि २०६२ सम्म कांग्रेसले सूर्यबहादुर थापा र एमालेले लोकन्द्रबहादुर चन्दलाई बोक्नु र अहिले कांग्रेस र एमालेले पालैपालो दाहाललाई बोकेका कारण मुलुकमा राजनीतिक संकट बढेको धारणा राखेको एमालेका पूर्वसांसद शंकरनाथ अधिकारीले बताए ।