कहाँ छन् पूर्वयुवराज, किन सँगै बस्दैनन् पारस र हिमानी ?

पुस ६ , काठमाडौं –  आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन्। कुनै वेला रक्सी, गाँजा, चरेस र झैझगडा उनको पर्यायझैँ मानिन्थ्यो। यिनै कारणले पारस सधैँ समाचारमा छाइरहन्थे। तर, पछिल्लो समय उनी समाचारका हेडलाइन पनि बन्न छाडेका छन्।

पारसनिकट स्रोतका अनुसार पछिल्लो समय उनले मदिरा र लागुऔषधको लत त्यागेर ध्यान र योग गर्ने बानी बसालेका छन्। आध्यात्मिक बहस गर्न रुचाउँछन्। वेलावेलामा पुराना सहपाठी र साथीहरूसँग भेटघाट र छलफल गर्छन्। वेलावेला आफू पढेको बूढानीलकण्ठ स्कुल गएर फुटबल र गोकर्ण पुगेर गल्फ पनि खेल्छन्। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकको गज्जब साप्ताहिकबाट लिएका हौ।
पूर्वयुवराज पारस बैंककमा एक्लै लामो समय बसे। त्यहीँ उनी गम्भीर बिरामीसमेत भए। बैंककको रामरउसमा दिन कटाएका पारस बिग्रिएको स्वास्थ्य लिएर १९ चैत ०७१ मा थाई एयरबाट काठमाडौं ओर्लिए। यद्यपि, बैंककमा उनको उपचार गरिएको थियो।
विमानस्थलमा पारसको स्वागतका लागि शिवसेनाको नेतृत्वमा ठूलो भीड जम्मा भएको थियो। बुबाआमा, पत्नी र छोराछोरी बसिरहेको निर्मलनिवास नगएर उनी पूर्वआइजिपी हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंहको बा.३च ५४०६ नम्बरको गाडी चढेर चण्डोलस्थित कुन्डलिनी क्लब पुगे। स्रोतका अनुसार त्यतिवेला पारसले पत्नी हिमानी आफूलाई लिन विमानस्थल आउने अपेक्षा गरेका थिए। उनको चाहना सीधै निर्मलनिवासमा गएर बस्ने थियो।
तर, न हिमानी विमानस्थल गइन् न त पारसलाई निर्मलनिवासमा प्रवेशको अनुमति दिइयो। ‘शुभसाइत’ जुराएर मात्रै दरबारमा भित्राउने भनियो। पारसलाई कुन्डलिनी क्लबमै बस्ने चाँजोपाँजो मिलाइयो। त्यहाँ पारस १० दिन बसे। पारसले क्लबमै छोराछोरी र बहिनीहरूसँग भेटघाट गरे। छोराछोरीसँगको फोटो पनि उनले सार्वजनिक गरे।
पारस र हिमानीको वैवाहिक सम्बन्ध सुमधुर छैन। पारस नेपाल फर्केको दुई वर्षको अवधिमा उनीहरूबीच दुई–चारपटक मात्रै भेट भएको स्रोतहरू बताउँछन्। त्यो पनि औपचारिकतामा मात्रै सीमित हुने गर्छ। गएको दसैँ–तिहारमा पारिवारिक भेटघाट भयो। त्यसअघि १५ असोज ०७३ मा हिमानीको जन्मदिनको अवसरमा पारसले सोल्टी होटेलमा हिमानीसहित परिवारका अन्य सदस्यसँग भेटघाट गरेका थिए। त्यसयता उनीहरूबीच भेटघाट नभएको स्रोत बताउँछ।
‘भविष्य हेर्ने’ केही माताले दरबारलाई दिने सुझाबले पनि पारस र हिमानीलाई सँगै बस्न दिएको छैन। ग्रहदशा बिग्रिएको भन्दै डेढ वर्ष पति–पत्नी छुट्टाछुट्टै बस्नुपर्ने सुझाब माताहरूले दरबारलाई दिएका छन्। पारसका मित्र प्रभञ्जन सिंहले दरबारमा थरीथरीका सुझाब पुगेकाले राजपरिवारका सदस्यबीच बेमेल देखिएको बताए।
निर्मलनिवास पुग्ने हरेक माताले डेढ वर्ष पति–पत्नी सँगै बस्न नहुने र ०७४ सालपछि राजतन्त्र फर्किने सुझाब नछुटाई दिने गरेको पारसनिकट स्रोत बताउँछ। सविता सरु र अर्की एक माताले अझ धेरै यस्ता सुझाब दिने गरेका छन्।
कुन्डलिनी क्लबबाट पारस बहिनी शीताष्मा (काका धीरेन्द्र शाहकी माइली छोरी)को घर जीवनकुञ्ज सरे। बैंकक बसाइमा पारसलाई खर्चको जोहो गरेर साथ पनि शीताष्माले नै दिने गरेकी थिइन्। पारस काठमाडौं आएको महिना दिन नबित्दै १२ वैशाख ०७२ मा गएको भूकम्पले जीवनकुञ्ज चर्कियो। शीताष्माको परिवार जीवनकुञ्जबाट ललितपुरको सुनाकोठीस्थित विकास राणाको घर भाडामा लिएर बस्न थाल्यो। पारस पनि शीताष्माको परिवारसँगै त्यहीँ बसिरहेका छन्।