सभामुखको सिफारिस राष्ट्रपतिले रोकिन्

कार्तिक २५ , काठमाडौं – सभामुख ओनसरी घर्तीमगरले संसदको सचिव नियुक्तिका लागि गरेको सिफारिस संविधानअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको छ ।सभामुख घर्तीले अधिकारकर्मी कानुन–व्यवसायी गोपालनाथ योगीलाई सचिव पदमा नियुक्तिका लागि भन्दै झण्डै दुई महिनाअघि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन्। यो खबर आजको अन्नपूर्णबाट लिएका हौ।

संसद सचिवालयका अनुसार सभामुख घर्तीले भदौ ५ गते योगीको नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिसपत्र पठाएकी थिइन् । तर सभामुखको सिफारिस संविधानअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको स्रोतले बतायो।
सभामुख घर्तीले प्रतिनिधिसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाले गर्ने काम रुपान्तरित संसदले गर्ने भन्ने संविधानको धारा २ सय ९६ को उपधारा ३ लाई आधार बनाएर प्रतिनिधिसभाको सचिवमा योगीलाई सिफारिस गरेकी थिइन्। तर, राष्ट्रपति कार्यालयले प्रतिनिधिसभाको सचिवका लागि प्रतिनिधिसभाकै सभामुखले मात्र सिफारिस गर्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै सभामुख घर्तीको सिफारिस रोकेको स्रोतले बतायो।